प्रधानसेनापति स्वदेश फिर्ता

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानसेनापति राजेन्द्र क्षेत्री संयुक्त राज्य अमेरिकामा आयोजित ग्लोबल चिफ अफ डिफेन्स कन्फेरेन्समा सहभागी भई स्वदेश फिर्ता हुनुभएको छ।

भ्रमणका क्रममा उहाँले उक्त कन्फेरेन्समा सहभागी भएका विभिन्न देशका सेना प्रमुख तथा उच्चस्तरीय सैनिक पदाधिकारीहरूसँग समेत भेटघाट गर्नु भई आपसी हितका विषयमा छलफल गर्नुभएको थियो।

प्रधानसेनापति क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरू तथा नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

यस किसिमको उच्च तहको सैनिक नेतृत्त्व वर्गको भ्रमणले नेपाली सेना र अमेरिकी सेनालगायत अन्य सहभागी राष्ट्रहरूका सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।