तालमेलको कुरा अझै मिलेन



 

नेपाल समाचारपत्र
काठमाडौं
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि अन्य दलसँग तालमेल र उम्मेदवार छनोटको गृहकार्यमा जुटेको नेपाली कांग्रेसले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँगको छलफललाई निष्कर्षमा पुर्याउन सकेको छैन।

कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ताको समय भए पनि कांग्रेसले बिहीबारसम्म अन्य दलसँगको तालमेलका लागि क्षेत्र निर्धारण गर्न सकेको छैन।

आफ्नै दलभित्रसमेत आकांक्षी नेताहरूको व्यवस्थापन गर्न गाह्रो परिरहेको कांग्रेसलाई तराईका प्रमुख दलहरू समेटेर आफ्नो नेतृत्वमा छुट्टै चुनावी गठबन्धन बनाउन नसक्दा प्रमुख वाम घटक दल नेकपा एमाले र माओवादी केन्द्रको सहकार्यले आगामी निर्वाचन जित्न चुनौती थपिएको छ।

कांग्रेस र मधेस केन्द्रित दलको कार्यदलसहित शीर्ष नेताहरूको बैठकमा संघीय समाजवादी फोरम र राजपाले प्रदेश नम्बर २ का ३२ सिटमध्ये एकमुष्ट २४ स्थान आफूले पाउनुपर्ने बटमलाइन प्रस्तुत गरिरहेका छन् भने कांग्रेसले १६ क्षेत्र आफूलाई चाहिने बताइरहेको छ। यसबारेमा कांग्रेसले आज शुक्रबार पनि छलफल गर्ने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ। तराईका दलहरूसँग तालमेलमा ढिलाइ भएसँगै पहिलो चरणमा चुनावी तालमेल गरेको अन्य दलहरूसँग तालमेलका लागि क्षेत्र निर्धारण गर्नसमेत कांग्रेसलाई सकस भइरहेको छ।

यता कांग्रेस संसदीय समितिले प्रतिनिधिसभामा शीर्ष नेताहरूका लागि
क्षेत्र टुंगाउने अन्तिम गृहकार्य गरेको जनाएको छ।

स्रोतका अनुसार सभापति शेरबहादुर देउवा डडेल्धुरामा, रामचन्द्रत पौडेल तनहुँ–१, महामन्त्री डा. शशांक कोइराला नवलपुर–१, प्रकाशमान सिंह काठमाडौं–१, प्रकाशशरण महत काठमाडौं–५, पूर्वमहामन्त्री विमलेन्द्र निधि धनुषा–३ बाट उम्मेदवारी दिने गृहकार्य भइरहेको छ।

हालै मात्र नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका नेता विजयकुमार गच्छदार सुनसरी–३, नेता गोपालमान श्रेष्ठ स्याङ्जा–२, गगन थापा काठमाडौं–४, नवीन्द्रराज जोशी काठमाडौं–८, पूर्णबहादुर खड्का सुर्खेत–१, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४, महेश आचार्य मोरङ–४, शेखर कोइराला मोरङ–६, मिनेन्द्र रिजाल मोरङ–२, रमेश रिजाल पर्सा–४, एनपी साउद कन्चनपुर–२, रमेश लेखक कञ्चनपुर–३, नारायण खड्का उदयपुर–१, नारायण कार्की उदयपुर–२, अर्जुन जोशी पर्वत र फरर्मुल्ला मन्सुर बारा–३ मा उम्मेदवार रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्