श्रीपेच कस्तो छ कसैलाई थाहा छैन



ईश्वरराज ढकाल, काठमाडौं ।
नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ, कसैलाई थाहा छैन। पूर्वराजा ज्ञानेन्द्रले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको थियो।

श्रीपेच राखेको कक्षको साँचो नारायणहिटी संग्रहालय विकास समितिको मातहतमा भए पनि श्रीपेच हेर्न छुट्टै समिति भएकाले समस्या आएको छ। ‘हामीले श्रीपेचको अवस्थाबारे जानकारी लिन आवश्यक ठानेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका थियौं, तर अहिलेसम्म उत्तर आएको छैन।’ –संग्रहालय विकास समितिका प्रमुख रोहित ढुंगानाले भन्नुभयो। श्रीपेचको पछिल्लो अवस्थाबारे जानकारी लिन श्रीपेच रहेको कोठा कसले खोलेर कसले हेर्ने भन्ने विषय नै अन्योलमा छ।

पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुअघि हाम्रा पिता पुर्खाको विरासतको रूपमा रहेको श्रीपेचलाई सदाका लागि जोगाएर राख्न देशवासीको नाममा अनुरोध गर्नुभएको थियो।

तर नारायणहिटी दरबार छाडेको ९ वर्ष बितिसक्दा पनि सरकारले पूर्वराजाका विभिन्न सामग्री, श्रीपेच प्रदर्शनीमा राख्न सकेको छैन। ‘श्रीपेच प्रदर्शनीमा राख्न नसके पनि यसको अवस्थाबारे जानकारी लिन कोठा खोल्ने तयारी गरेका छौं।’ –संग्रहालय प्रमुख ढुंगानाले भन्नुभयो।
उहाँका अनुसार कडा सुरक्षा घेराभित्र रहेको श्रीपेच राखेको कोठाको साँचो संग्रहालयका अधिकृत भुवन कार्कीसँग छ। उक्त कोठा खोल्न संस्कृति मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरीको अनुमति चाहिन्छ। सरकारी समितिले २०६५ सालपछि पहिलो पटक २०७१ मा श्रीपेच हेरेको थियो। अहिले ३ वर्षपछि हेर्ने तयारी गरेको छ। संग्रहालय प्रशासनले यसअघिका संस्कृति मन्त्रालयका सचिवलाई पटक पटक श्रीपेचको कोठा खोल्न आग्रह गरी पत्र पठाएको थियो। तर त्यसका बारेमा अहिलेसम्म कसैले वास्ता गरेका छैनन्।

‘कोठामा राखे पनि कुनै समस्या नपर्ने गरी सुरक्षित राखेका छौं।’ –ढुंगानाको भनाइ थियो। सर्वसाधारणको चाहना र चासोका कारण सरकारले पटक–पटक श्रीपेच प्रदर्शनीमा राख्ने तयारी गरेको थियो। संग्रहालयले २०६८ सालमा करिब १ करोढ ५० लाख रुपियाँको लागतमा श्रीपेच राख्ने बुलेटप्रुफ सोकेस तयार गरेको थियो। शैलुन कक्षको स्टिलको सोकेसभित्र थन्किएको श्रीपेचलगायत राजपरिवारका सामग्री राख्न संग्रहालयले ६ वर्षअघि नै दुईवटा बुलेटप्रुफ सोकेस तयारी गरिसकेको थियो। प्राविधिक कारण देखाउँदै उक्त सोकेसमा श्रीपेच राखिएको छैन। संग्रहालयले गत वर्षको वैशाख १ गतेदेखि नै सर्वसाधारका लागि श्रीपेच, राजदण्डलगायतका ऐतिहासिक सामग्री प्रदर्शनीमा राख्ने तयारी गरेको थियो।

सोकेस तयार भएलगत्तै नेपाली सेनाले बुलेटप्रुफ सिसा परीक्षणसमेत गरिसकेको अवस्थामा श्रीपेच देखाउन नसक्नु सरकारकै कमजोरी भएको टिप्पणी हुन थालेको छ। ‘सम्पूर्ण तयारी भइसकेको अवस्थामा के कारणले श्रीपेचलगायतका सामग्री अवलोकनका लागि राख्न नसकिएको हो हामीलाई जानकारी छैन।’ –ढुंगानाले भन्नुभयो।

संग्रहालयले श्रीपेचसहित राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट (टायरा), एउटा झारी र दुईवटा चमर राख्नका लागि सोकेस तयारी गरेको थियो। संग्रहालयले सुर्खेत र रूपन्देही कक्षमा ती सामग्री राख्ने तयारी गरेको थियो।

ल्याटिन अमेरिकाको एक दुर्लभ चराको प्वाखको कल्कीबाट बनेको श्रीपेचमा सुन, चाँदी, हिरा, मोती, पन्ना जडित दुर्लभ र बहुमल्य छ। सरकारले राजपरिवारका सम्पत्तिलाई संरक्षण गरी विशाल संग्रहालय बनाउने परिकल्पनासहित तत्कालीन प्रधानमन्त्री जिरिजाप्रसाद कोइरालाले २०६५ असार २ गते नारायणहिटी संग्रहालय बनाउने घोषणा गर्नुभएको थियो। त्यस लगत्तै फागुन १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संग्रहालयको उद्घाटन गर्नुभएको थियो। २०६५ फागुन १६ गते सर्वसाधारणका लगि खुला गरिएको नारायणहिटी संग्रहालयमा रहेको श्रीपेच हेर्न सबै सर्वसाधारण आतुर छन्।

सिलबन्दी गरी राखिएको सो श्रीपेच तत्कालीन रक्षा सचिव बामनप्रसाद न्यौपाने, गृह सचिव उमेश मैनाली, सामान्य प्रशासन सचिव गोविन्द कुसुम, दरवारका सम्पत्तिकोष विभाग प्रमुख एवं राजप्रसाद सेवाका सचिव प्रदीपकुमार अर्याल र पूर्वराजाका पुरोहित शेखर ढुंगाना, सहायक रथी श्यामबहादुर थापा तथा संग्रहालयका शाखा अधिकृत भुवनबहादुर कार्कीको उपस्थितिमा मुचुल्का उठाइ श्रीपेचलाई सोकेसमा थन्क्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्