मुगावे डब्ल्यूएचओको दूत रहेनन्


 

हरारे, (एजेन्सी)
विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले आइतबार जिम्बावेका राष्ट्रपति रोवर्ट मुगावेको व्यापक जन विरोधको कारण उनलाई आफ्नो सद्भावना दूतबाट हटाएको छ। एउटा विज्ञप्ति जारी गर्दै डब्ल्यूएचओका अध्यक्ष टेड्रोस अधानोम घेव्राइससले यसबारे चिन्ता व्यक्त गर्ने सबैको गुनासो आफूले ध्यानपूर्वक सुनिसकेको बताएका छन्।

यसअघि उनले जन स्वास्थमा पुर्याउँदै आएको योगदानका लागि जिम्बावेको प्रशंसा गरेका थिए। तर आलोचकहरूले मुगावेको ३० वर्ष लामो शासनकालको दौरान जिम्बावेको स्वास्थ स्याहार प्रणाली ध्वस्त भएको बताएका थिए।

ती आलोचकहरूले
स्वास्थ्य सेवाका कर्मचारीहरूलाई प्रायशः तलब दिइने नगरिएको, औषधिको अभाव हुने गरेको तर ३० वर्षदेखि लगातार सत्तामा रहेका मुगावे भने औषधि उपचारका लागि विदेश जाने गरेको बताएका छन्।

टेड्रोसले जिम्बावेको सरकारसँग पनि छलफल गरी मुगावेलाई डब्ल्यूएचओको सो सम्मानित पदबाट हटाउने निर्णय गरेको बताएका छन्। मुगावेलाई सो पदमा नियुक्त गरिँदा विश्वका नेताहरूले आश्चर्य प्रकट गर्दै आलोचना गरेका थिए।