यस्तो पनि अस्पताल, जुन अस्पतालमा कर्मचारीकै छोरीबेटीको प्राण बच्दैन


 

कृष्णउदास खनाल, वीरगन्ज
मध्य तराईको वीरगन्जमा रहेको अस्पताल नारायणी उपक्षेत्रीय अस्पताल डाक्टरको लापरवाहीका कारण बिरामीको अल्पआयुमा नै निधन हुने गरेको छ। चिकित्सकको चरम लापरवाहीका कारण अस्पतालका कर्मचारीकै छोरीबेटी मर्न थालेपछि वीरगन्जमा अहिले उक्त अस्पतालका विषयमा धेरै टिप्पणी भइरहेका छन् ।

अस्पतालका स्वीपर विनोद राउतकी २२ वर्षीया छोरी कवितादेवीको शुक्रबार राति १ बजे उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा चरम लापरवाही भइरहेको कुरा पुष्टि भएको छ।३५ जना विशेषज्ञ डाक्टर भएको नारायणी अञ्चलकै ठूलो अस्पतालमा गर्भवती छोरीको ज्यान जोगाउन नसकेको विनोदले बताए।‘हामीमाथि त यसरी लापरवाही हुन्छ भने अरूको हालत के होला?’, विनोदले भक्कानिदै भने– ‘आफू कार्यरत अस्पताल भएर नै छोरीलाई यही अस्पताल ल्याएको थिएँ, डाक्टरहरूले छोरी मारिदेलान् भन्ने लागेको भए अन्तै लगेर उपचार गराउँथे।’ डाक्टरहरूको लापरवाहीले गर्भवती श्रीमतीको मृत्यु भएको कविताका पति कुन्दन शाहले बताए।

प्रसव पीडाले च्यापेपछि बिहान ३ बजे अस्पताल पुगेकी कवितालाई नर्सहरूले ८ बजे मात्र आउनु भनी घर फर्काइदिएका थिए।८ बजे परिवारसहित प्रसूति गराउन पुगेकी कविता हाँस्दै आउने आशमा परिवारका सदस्य बसेका थिए, तर राति बच्चा जन्माउने वार्डबाट आमा र बच्चाको शव आएको कुन्दन बताउँछन्। गएको बिहीबार चिकित्सकहरूले बच्चा जन्माउन प्रयास गरे पनि सफल भएनन्। अपराह्न ४ बजेसम्म बच्चा नजन्मिएपछि भ्याकुम प्रविधिबाट जन्माउने प्रयास गरियो। त्यसरी पनि बच्चा नजन्मिएपछि कविताको अवस्था नाजुक हुँदै गएको थियो।

साझ ६ बजे शल्यक्रिया गरी बच्चा जन्माउन सुझाव दिएपछि प्रसूति वार्ड प्रमुख डाक्टर सुरेन्द्र चौधरीले शल्यक्रिया गरी बच्चा निकालेका थिए। तर बच्चाको पेटमै मृत्यु भइसकेको थियो। शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएकाले कविताको मृत्यु भएको अस्पतालले परिवारलाई बताएको छ।कविताको अवस्थामा चिकित्सकहरूले किन बिहानैदेखि चासो दिएनन्? जिम्मेवारी कसले लिने? कर्मचारीकै परिवारमा यस्तो घटना हुन थालेपछि अरूको अवस्था के होला भन्ने प्रश्नको वीरगञ्जबासीले उत्तर खोजिरहेका छन्।
प्रसूति वार्डका प्रमुख डाक्टर सुरेन्द्र चौधरीले चिकित्सकले सक्ने जति गरे पनि उनको अवस्था नियन्त्रणभन्दा बाहिर गएकाले मृत्यु भएको दाबी गरे।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्ररञ्जन शाह असोज ३० गते फेलोसिपमा अध्ययनका लागि काठमाडौं गएपछि अस्पतालमा लापरवाही बढेको हो।