भक्तपुरमा वाम तालमेलले कांग्रेसलाई असर नपर्ने

0
Shares

 

पुष्कर बुढाथोकी

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरमा वाम तालमेलले कांग्रेसलाई केही असर नपर्ने बताउनुभएको छ। वाम गठबन्धनले भक्तपुरलाई कुनै असर नगर्ने दाबी गर्दै उहाँले वाम तालमेलमा रहेको माओवादी (केन्द्र) ले समेत भक्तपुरमा कांग्रेसलाई सघाउने गरी छलफल भइरहेको बताउनुभयो।

उम्मेदवारको हकमा भक्तपुर कांग्रेसभित्र कुनै विवाद नरहेको प्रस्टइउँदै अध्यक्ष थापाले माथिल्लो तहबाट आएको निर्णयअनुसार कांग्रेस अगाडि बढ्ने र आफूलाई कांग्रेस कमजोर रहेको भक्तपुर क्षेत्र नं. १ बाट टिकट दिए पनि उठ्न तयार रहेको बताउनुभयो। आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा लोकतान्त्रिक गठबन्धनअनुसार नेपाली कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको छ।

थापाले भक्तपुरमा नेपाली कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमले गरेर निर्वाचनमा उम्मेदवारी दिने बताउनुभयो। तालमेलका बारेमा पार्टीको केन्द्रीय नेतृत्व तहबाटै छलफल भइरहेको र सहमतिको अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो।

भक्तपुरमा प्रतिनिधिसभातर्फ १ र २ निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ३ वटा प्रदेशमा राप्रपा (प्रजातान्त्रिक) ले नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने तथा क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा भने नेपाली कांग्रेसले राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने गरी तालमेल हुने भएको छ।

कांग्रेस जिल्ला सभापति थापाले भन्नुभयो– ‘कांग्रेस बलियो भएकै क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने र अन्य क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक) ले कांग्रेसलाई सघाउने सहमति अन्तिम चरणमा पुगेको छ, भक्तपुरमा एमालेलाई एक्लो बनाउने गरी तालमेलका लागि छलफल भइरहेको छ।’

कांग्रेसले राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नेपाल मजदुर किसान पार्टी, नेकपा (माले), र माओवादी (केन्द्र) सँग तालमेलका बारेमा छलफल भइरहेको बताउँदै भक्तपुरमा एमालेलाई एक्लो बनाएर कांगे्रस चुनावमा जाने उहाँले बताउनुभयो। स्थानीय तह निर्वाचनमा मध्यपुर थिमी नगरपालिकामा एमालेसँग तालमेल गरेर प्रमुखमा एमालेलाई जिताएको नेमकिपाले उपमेयरमा हार व्यहोरेर धोका खाएको उल्लेख गर्दै उहाँले अब नेमकिपाले एमाललेलाई नसघाउने विश्वास व्यक्त गर्नुभयो।
यता राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले कांग्रेससँग तालमेल गरेर जानेबारेमा सहमति अन्तिम चरणमा पुगेको बताउनुभयो।

स्थानीय निर्वाचन २०७४ मा नेपाली कांग्रेस भक्तपुरले पराजित हुनुका कारण खोज्दै उम्मेदवारहरुसँग बृहत् छलफल र अन्तरक्रिया गरेको छ। साथै वडा–वडामा समीक्षा बैठक गरी प्रतिवेदन प्रस्तुत गरेको छ। भेलामा निर्वाचनमा पराजित हुनुपर्नुका कारण र आगामी निर्वाचनमा खेल्ने रणनीतिका बारेमा बृहत् छलफल भएको थियो।

थापाले भक्तपुर कांग्रेसमा गुटबन्दी हटाउन आफू प्रतिबद्ध रहेको बताउँदै कमजोरीलाई हटाएर आगामी चुनावमा विजय सुनिश्चित गर्ने गरी अगाडि बढ्ने बताउनुभयो। स्मरण रहोस् कांग्रेसको गढ भनेर चिनिएको मध्यपुर थिमी नगरको प्रमुखमा समेत गरी भक्तपुरका चाँगुनारायण, सूर्यविनायक र भक्तपुर गरी ४ वटै नगरपालिकामा कांग्रेसले पराजय बेहोरेको थियो। मध्यपुर थिमी नगरपालिकाको उपप्रमुखमा मात्र कांग्रेसले विजयी हासिल गरेको थियो।

भक्तपुर नगरबाहेक सबै क्षेत्रमा आफ्नो संगठन मजबुद रहेको बताउँदै सभापति थापाले अब त्यहाँ पनि संगठन मजबुद बनाउन कांग्रेस लागिपरेको भन्दै आसन्न निर्वाचनमा कांग्रेस एकढिक्का भएर विजय हासल गर्ने गरी चुनावी मैदानमा उत्रने बताउनुभयो।

तर, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष एवं कांग्रेस नेता विनोद कायस्थ भने चुनावमा कांग्रेस एकढिक्का भएर जाने वातावरण अझै नदेखिएको भन्दै तुलनात्मक हिसाबले राम्रो उम्मेदवारलाई टिकट दिएर पार्टीका नेताभित्र रहेका विद्यमान तुस र अहंलाई त्यागेर एकढिक्का नभएसम्म कांगे्रसले सोचेजस्तो परिणाम हासिल गर्न नसक्ने बताउनुहुन्छ।