स्पेन घुम्नै पर्ने एउटा मुलुक


पुष्करलाल श्रेष्ठ

स्पेनको सबैभन्दा सुन्दर शहर बार्सिलोना घुमेर फर्केको केही दिनपछि अर्थात् २०७४ भदौ १ गते हामी घुमेकै एउटा ठाउँ ला राम्बलामा गाडीबाट आक्रमण गरी १३ जना पर्यटक मारिएको समाचार सुन्दा एकछिन् त हंसले नै ठाउँ छोड्यो। यो समाचारले दैनिक हजारौं पर्यटक पैदल यात्रामै रमाउने करिब सवा किलोमिटर लामो यस्तो शान्त र रमाइलो ठाउँमा फेरि कुन आतंककारीको आँखा परेको होला भनी एकछिन् सोच्न बाध्य बनायो।

सन् १३७७ मा निर्माण भई सन् १४४० मा मात्र हिँड्न योग्य बनेको यो बाटोको बीचमा मान्छेबाहेक गाडी गुड्नै मिल्दैनथ्यो। कसरी फेरि यत्रो मान्छेलाई गाडीले कुल्चेको होला ? जति सोचे पनि घटना त भइसकेकै थियो। घटनाले संसार हल्लाइसकेको थियो। स्पेनका विभिन्न चाड मनाउन आउने भएकाले पनि यो सडकमा सधैंजसो भीडचाहिँ भई नै रहने रहेछ।

यो घटनाको मुख्य जिम्मेवार को हो भन्ने कुराको अनुसन्धान अहिलेसम्म जारी नै रहेको छ। युरोपका अन्य देशहरूको तुलनामा इटलीपछि अलि सजिलै शरणार्थी छिर्न सक्ने भएकाले स्पेनमा धेरै आतंककारी रहेको अनुमान यो घटनाले पुष्टि गरेको छ। स्पेनमा आधिकारिकरूपमै १ सय ४० भन्दा बढी मुस्लिम संघ(संगठन क्रियाशील छन्। अफ्रिकी मुलुक मोरक्को नजिकै रहेकाले समुद्रबाट पौडेरै यहाँबाट पनि धेरै शरणार्थी छिर्ने गरेको बताइन्छ।

भर्खरै यति दुःखदायी घटना घटेको बार्सिलोनामा अहिले फेरि क्याटलोनियाको स्वायत्तताको अधिकारलाई लिएर भइरहेको प्रदर्शन स्पेन सरकारका लागि अर्को टाउको दुःखाइ भइरहेको छ। तीन हप्ताअघि मात्र क्याटलोनिया स्वतन्त्रताका पक्षधरहरूले गरेको जनमत संग्रहको परिणामबाट हौसिएका नेता कार्लेस पुइगडेमन्टले बीबीसीलाई दिएको अन्तर्वार्तामा क्याटलोनियालाई एकतर्फीरूपमा स्वतन्त्र घोषणा गर्ने चेतावनी दिएका थिए।

स्पेनका राजा फिलिप छैटौंको क्याटलोनिया विरोधी कडा चेतावनीको स्वतन्त्रताका पक्षधर नेताहरूले प्रतिकार गरे पनि स्पेनका प्रधानमन्त्री मारियानो रेजोयले स्वतन्त्रताको घोषणा कार्यान्वयन नहुने स्पष्ट पारिसकेका छन्। स्पेनको संवैधानिक अदालत र सरकारबाट आएको कडा प्रतिक्रियाविरुद्ध क्याटलोनिया स्वतन्त्र पक्षधरहरूको प्रदर्शन जारी रहेकाले यो मुद्दा कहाँ गएर टुंगिन्छ भन्नेबारे अहिले नै यकिन गर्न सक्ने अवस्था छैन। पछिल्लो समयमा क्याटलोनियाका विखण्डनकारी नेता कार्लस सुज्डमोनमाथि क्याटलोनिया स्पेनबाट अलग हुने योजना त्याग्न उनीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा निकै ठूलो दबाब बढिरहेको छ।

लेखक श्रीमती राजेश्वरी श्रेष्ठसँग सग्राडा फेमिलियामा

साधारण जानकारीका लागि क्याटलोनिया स्पेनको उत्तर(पूर्वी क्षेत्रमा पर्छ। यहाँ करिब ४ हजार नेपालीसमेत गरी ७५ लाख मानिस बसोबास गर्छन्। उनीहरूको आफ्नै भाषा र संस्कृति छ भने बार्सिलोना त्यसको राजधानी हो। हुन त यहाँ अहिले पनि माथिल्लो स्तरको स्वायत्तता नभएको होइन, तैपनि स्पेनको संविधानले यसलाई अलग राष्ट्र मानेको छैन। स्पेनकै सबैभन्दा राम्रो शहरको रूपमा विश्वभर चर्चित यो ठाउँलाई स्पेन सरकारले त्यति सजिलै छोड्ने कुरा सम्भव देखिँदैन।

यसपटकको युरोप भ्रमणमा धेरैजसो मुलुकहरू ट्रेनबाटै सफर गरेको भए पनि स्पेनचाहिँ एम्सटर्डमबाट अलि टाढा भएकाले हामी विमानबाटै गएका थियौं। स्पेनको यात्रामा भने हामीलाई भाइ दुर्गा मोक्तानले साथ दिएका थिए। भाइ मोक्तानकी श्रीमती तथा हाम्री भाइ(बुहारी नाताली मोक्तान नेदरल्यान्डको राजधानी एम्सटर्डममै कार्यरत रहेकी र अनि भाइ मोक्तान पनि काठमाडौंबाट एम्सटर्डम आइपुगेकाले हामीलाई स्पेन घुम्न धेरै सहज भयो। भाइ एमस्टर्डम पुगेको पर्सिपल्टै अनलाइनबाट हवाई टिकट बुक गरेर हामी एम्सटर्डमबाट ३ जुलाई २०१७ मा बार्सिलोना उडेका थियौं। एम्सटर्डमबाट दुई घण्टाको हवाई उडान भरेपछि बार्सिलोना पुग्न सकिन्छ।

कला, संस्कृति, वास्तुकला, राम्रो मान्छे र मीठो खानाका कारण स्पेन संसारकै एउटा राम्रो र सुन्दर देश भएकोमा कसैको विमति छैन। ५ लाख ५ हजार ९ सय ९० वर्गकिलोमिटर क्षेत्रफल रहेको स्पेन युरोपियन युनियनकै दोस्रो ठूलो देश हो। यो युरोपियन युनियनको पाँचौं धेरै जनसंख्या भएको देश पनि हो। यहाँको जनसंख्या झण्डै ४ करोड ६६ लाख छ। विश्वप्रख्यात फुटबल टिम रियल म्याड्रिड खेल्ने टिम रहेको म्याड्रिड स्पेनको राजधानी हो।

स्पेनको इतिहास पढ्दा रोमन साम्राज्यको बेला जन्मेको यो देशको पहिलो नाम हिस्पेनिया रहेछ। पहिले नेपालमा छरिएर रहेका स(साना देशहरूलाई पृथ्वीनारायण शाहले एकीकरण गरेजस्तै स्पेन पनि १५औं शताब्दिमा एकीकरण भएर सिंगो देश बनेको थियो। स्पेन इतिहासकै पहिलो साम्राज्य खडा गर्ने देश हो। स्पेनपछि मात्र बेलायतले विस्तारै साम्राज्य खडा गर्दै लगेको थियो। यसरी विश्वभरि नै आफ्नो साम्राज्य खडा गर्न सफल भएका कारण अहिले विश्वका ५० करोड मानिस स्पेनी भाषा बोल्न सक्छन्। यो संसारमा चिनियाँ भाषापछि सबैभन्दा बढी मान्छेले बोल्ने भाषा हो।

सन् १९३६ मा स्पेनमा भएको ठूलो गृहयुद्धमा ५ लाखभन्दा बढी मान्छेले ज्यान गुमाउनुपरेको थियो। नाजी जर्मनी र इटलीको सहयोगमा गणतन्त्रवादी र फ्रान्सिस्को फ्रान्कोको नेतृत्वमा राष्ट्रवादीबीच भएको ३ वर्ष लामो घमासान गृहयुद्धपछि सन् १९३९ मा राष्ट्रवादीले विजय हासिल गरेको थियो। राष्ट्रवादी शक्तिलाई त्यस बेला सोभियत युनियनको साथ रहेको बताइन्छ।

क्याम्प नाउस्थित बार्सिलोनाको घरेलु फुटबल स्टेडियममा लेखक

हाल संवैधानिक राजतन्त्र रहेको स्पेनलाई हेर्न अमेरिका र फ्रान्सपछि सबैभन्दा धेरै मानिस ओइरिने गरेको दाबी गरिन्छ। अहिले संसारकै एक नम्बर रहेको देश अमेरिका बनाउनमा स्पेनिसहरूको ठूलो हात रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ। यो स्तम्भकार अमेरिकी सरकारको निमन्त्रणामा अमेरिकी भ्रमणमा रहेको बेला त्यहाँका धेरै पुराना सांस्कृतिक ठाउँहरू घुमाउने क्रममा अमेरिकी अधिकारीहरूले स्पेनिसका बारे धेरै बयान गर्दै अमेरिका बनाउनमा स्पेनिसको ठूलो हात रहेको कुरा बताउने गरेका थिए।

विश्वकै ४४ वटा प्रसिद्ध हेरिटेज साइड भएको देशमा पहिले कहाँबाट यात्रा शुरू गर्ने भन्ने कुरामा हामी होटलमै एकछिन् अलमलियौं। पुरानो फुटबल खेलाडीको नाताले यस स्तम्भकारलाई युरोपका आफ्नो सबैभन्दा प्रिय फुटबल टिम बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउ जाने इच्छा थियो। तर, भाइ दुर्गा र श्रीमती राजेश्वरीलाई फुटबल ग्राउन्ड हेर्ने कुरो पहिलो प्राथमिकतामा नपर्ने बुझेको यो स्तम्भकारले बार्सिलोना शहर घुम्ने तालिका बनाउने जिम्मा भाइ दुर्गालाई नै सुम्पेको थियो।

भाइ दुर्गाले बनाएको तालिकाअनुसार सबैभन्दा पहिले हामी बार्सिलोनामा वार्षिक ३० लाख पर्यटकले हेर्ने नामुद वास्तुकलाविद् एन्टोनी गाउडले डिजाइन गरेको विश्वप्रसिद्ध सग्रादा फेमिलिया हेर्न निस्क्यौं। सन् १८८२ मा बनाउन शुरू गरिएको सग्रादा फेमिलियाको निर्माण अहिले पनि जारी नै रहेको छ। वास्तुशास्त्रको अनुपम नमुनाको रूपमा ठडिएको यसको डिजाइन जति हेरे पनि हेरिरहुँ लाग्ने निकै आकर्षक एवं सुन्दर छ। यसको निर्माण कहिले सक्ने भनी त्यहाँ बुझ्न खोज्दा यसको डिजाइन गर्ने सर्जक आर्किटेक गाउड मरेको सय वर्षको वार्षिक पुण्यतिथिका दिन सन् २०२६ मा मात्र सक्ने लक्ष्य रहेको थाहा पाइयो। यस हिसाबले यो चर्चको निर्माण सम्पन्न गर्न मात्र १ सय ४४ वर्ष लाग्ने अनुमान गर्न सकिन्छ।

बार्सिलोना पुगेपछि त्यहाँ नहेरी नहुने ठाउँहरूको चर्चा गर्नुपर्दा केही महिनाअघि मात्र आतंककारीको शिकारमा परेको भए पनि एक पटक ला राम्बलामा पैदल यात्रा गरेर आनन्दचाहिँ लिनै पर्ने देख्छु। यस ठाउँमा यात्रा गर्दा वरिपरि धेरै नेपाली पनि भेट्न सकिन्छ। यहाँ केही नेपालीले पसल थापेर व्यापार गरिरहेका छन्। यसपछि यहाँ छुटाउनै नहुने अर्को पार्क ग्वेल र थिम पार्क नामका दुई ठूला हरियाली पार्क पनि हुन्। यी पार्कमा पुगेपछि तपाईं यहाँबाट नजिकै पर्ने आकर्षक समुद्री किनारमा पनि पुग्न सक्नुहुन्छ। पार्क त त्यसै पनि सुन्दर छ नै।

दिनभरि घुमेर तपाईं साँझमा थकाइ मेट्न चाहनुहुन्छ भने रंगीन पानी र संगीतको समिश्रणले भरिएको चित्ताकर्षक फाउन्टेन हेर्ने ठाउँ खोज्दै यहाँ पुग्ने प्रयास गर्नुस् भन्छु। किनभने सन् १९३९ मा बनेको यो फाउन्टेनबाट छोड्ने रंगीन पानी नाचेको हेर्न यो ठाउँमा विश्वभरबाट वार्षिक २५ लाख पर्यटक ओइरिने गर्छन्। यसबाहेक विश्वप्रसिद्ध स्पेनिस चित्रकार पाब्लो पिकासो संग्रहालय पनि बार्सिलोनाको छुटाउन नहुने एउटा अर्को आकर्षण हो। यहाँ पिकासोका नामुद चित्रहरू नरहे तापनि उनले कोरेका ४ हजारभन्दा बढी आकर्षक पेन्टिङ हेर्न सकिन्छ।

शुरूमा भनिएझैं कला र संस्कृतिले धनी देश स्पेनको राजधानी मेड्रिडलगायत भ्यालेन्सिया, सेभिल, पोर्टो, बार्सिलोना शहरमा छरिएर रहेका चित्ताकर्षक चर्च, दरबार, महल, हरियाली पार्कहरू घुमीसाध्य छैन। स्पेन पुगेपछि सन् १९२० मा भएको अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि बनाइएको क्लाउसिडिया स्पेनिया, १४औं शताब्दिमा बनेको क्याथ्रिडेल सम्रिविच, वास्तुकलाका लागि प्रसिद्ध एन्टोना गौदी पनि हेर्न नछुटाऊ भन्छन् प्रायः स्पेनिस।

स्पेनको संस्कृति र इतिहाससँगै जोडेर आउने स्पेनिस साँढे जुधाउने खेलचाहिँ अलि बढी नै हिंस्रक लागेकाले हाम्रो ध्यान त्यतातिर मोडिएन। संस्कृतिसँग जोडिएको भए पनि यसको स्पेनमै धेरै विरोधका स्वर सुन्न पाइयो। आगोको मुस्लो नचाउने प्रदर्शन पनि स्पेनमा धेरै लोकप्रिय रहेछ। संगीतको धुनमा आगो नचाउने स्पेनको परम्परागत नृत्य त्यहाँको लोक संस्कृतिसँग पनि जोडिएको रहेछ।

खेलकुदप्रेमीहरूका लागि त स्पेन स्वर्ग नै भन्दा हुन्छ। बार्सिलोना फुटबल टिमको मैदान क्याम्प नाउ र रियल मेड्रिड घरेलु फुटबल मैदान नेब्रास्काबाहेक स्पेनमा फर्मुला वान, साइक्लिङ, टेनिस र बास्केटबलका थुप्रै क्लबहरूको अवलोकन गर्न सकिन्छ। स्पेनले सन् २०१० मा भएको विश्वकप फुटबल शानदाररूपमा जितेको कुरा अहिले पनि धेरै फुटबलप्रेमीको स्मरणमै हुनुपर्छ। सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको छनोट प्रतियोगितामा पनि स्पेनले एक खेल
खेल्न बाँकी हुँदै रसियाको टिकट काटिसकेको छ।

फुटबलप्रेमीहरूलाई थाहा भए पनि अरू धेरैलाई थाहा नहुन सक्छ, स्पेनको रियल मेड्रिड फुटबल क्लब संसारकै सबैभन्दा धनी फुटबल क्लब हो। यसको वार्षिक आम्दानी ६ सय ५० मिलियन युरो अर्थात् करिब ७९ अर्ब ५७ करोड नेपाली रुपियाँ छ। यस क्लबको ब्रायन्ड भ्यालु मात्र ३ दशमलव ३ बिलियन युरो छ भन्दा सुन्ने सबैले एकपटक जिब्रो नटोकी सुखै पाउँदैनन्। यसको चिर प्रतिद्वन्द्वी बार्सिलोनाको ब्रायन्ड भ्यालु भने रियल मेड्रिडको भन्दा कम अर्थात् २ दशमलव २ बिलियन युरोबाहेक छैन।

बार्सिलोनाको क्याम्प नाउमा रहेको फुटबल मैदान मात्र हेर्न पनि २३ युरो खर्च गर्नुपर्ने र अनुसन्धानात्मक पत्रकारिताको अध्ययन गरिरहँदा अमेरिकामा विश्वकप फुटबल विजेता अर्जेन्टिना र अमेरिकाको राष्ट्रिय फुटबल टिमबीच भएको प्रत्यक्ष फुटबल म्याच हेरिसकेका कारण यसपटक त्यत्रो पैसा खर्च गरी खाली फुटबल मैदान मात्र हेर्न क्याम्प नाउ फुटबल मैदान नछिरीकनै फक्र्यौं।

टेनिसको कुरा गर्दा वर्तमान क्ले कोर्टका राजा नै स्पेनिस खेलाडी राफाल नाडाल हुन् भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो। उनले क्ले कोर्टमा खेलिने फ्रेन्च ओपन ग्रायन्ड स्लाम मात्र १० पटक जितेर विश्व रेकर्ड बनाइसकेका छन्। यसबाहेक भर्खरै चीनमा सकेको बेइजिङ टेनिससँगै नाडालले आफ्नो टेनिस क्यारियरमा १६ वटा ग्रान्ड स्लाम हात पारिसकेका छन्। यसबाहेक फर्मुला वानका मार्क मार्केस, फुटबलका काकियास, एन्ड्रस इनियस्टा, इकर क्यासियल्स, लुइस स्वारेज, राउल, फरनान्डो टोरेस, बास्केटबलका अल्बर्ट मिरालेस, अल्बर्ट ओलिभर, अल्बर्टो डियाज सबै विश्वप्रसिद्ध स्पेनिस खेलाडी हुन्। रियो ओलम्पिकको महिला ब्याडमिन्टनको स्वर्णपदक विजेता क्यारोलिना म्यारिन पनि स्पेनकै खेलाडी हुन्।

वास्तविक समाजवादको रसास्वादन गरिरहेको युरोपको स्पेनमा पनि शिक्षा र स्वास्थ्यका लागि जनताले पैसा खर्च गर्नुपर्दैन। सन् १६०५ मा लेखिएको डन क्विन जोते नामक विश्वको पहिलो आधुनिक उपन्यास प्रकाशित गरेको स्पेनलाई सम्पदामा युनेस्कोले इटली र चीनपछि विश्वकै तेस्रो धनी देशको सूचीमा राखेको छ। यहाँका ७१ प्रतिशत जनता क्याथोलिक धर्म मान्छन्। स्पेनले पहिलो र दोस्रो दुवै विश्वयुद्धमा औपचारिकरूपमा भाग नलिए तापनि यसको झुकाव भने जर्मनी र इटलीमा रहेको थियो। संसारको २३औं ठूलो अर्थतन्त्र भए पनि स्पेन युरोपको दोस्रो धेरै बेरोजगारी भएको देश हो। यहाँ धनी र गरिबको खाडल पनि निकै ठूलो छ। त्यसका बाबजुद नेपाल आउने पर्यटकहरूमा स्पेनिसको पनि बाहुल्यता रहने गरेको कुरा बेला(बेला नेपाल टुरिजम बोर्डले सार्वजनिक गर्ने तथ्यांकहरूमा हामी देख्न पाउँछौं।

लेखक साथी दुर्गा मोक्तानसँग

स्पेनिसहरू नेपालमा आएजस्तो हामी नेपाली स्पेनमा जान सम्भव नभए पनि तुलनात्मकरूपमा अन्य युरोपेली मुलुकभन्दा सस्तो भएकाले युरोप जाने अवसर पाउँदा एकपटक स्पेन छिर्ने प्रयास गर्नुचाहिँ भ्रमणको दृष्टिकोणले फलदायी नै हुने यो स्तम्भकारको सुझाव छ। समुद्र हेर्नबाट वञ्चित भूपरिवेष्ठित मुलुकका हामी नेपालीका लागि समुद्रको आनन्द लिनसक्ने स्पेनमा हजारभन्दा बढी आकर्षक समुद्री किनार छन्। तपाईं बार्सिलोना, मेड्रिड वा भ्यालेन्सिया जहाँ गए पनि तीन शहर तीनै किसिमका देखिनुहुन्छ। जहाँ गए पनि भू(बनोटदेखि पर्व, संस्कृतिसमेत फरक(फरक पाइने हुनाले तपाईंले स्पेनको जुन भागमा पुगे पनि फरक किसिमको मजा लिन सक्नुहुनेछ। खाना यहाँको सस्तो मात्र होइन कि मीठो पनि छ। पायला, जामोन क्रोक्विटस यहाँका प्रसिद्ध खानाहरू हुन्। चाख्दा स्वादिलो मात्र होइन आनन्दको पनि अनुभूति हुन्छ। यी सबै कारणले गर्दा पनि एकपटक स्पेन घुम्नु रमाइलै हुन्छ।