लन्डन, (एजेन्सी)
मारिया सारापोभाले पोल्यान्डकी मेग्डा लिनेटलाई हराउँदै टायनजिन ओपनको क्वार्टरफाइनलमा पुगेर पहिलो उपाधितिर अग्रसर भएकी छन्।
पूर्वनम्बर एक रसियन खेलाडीले चीनमा जारी प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा आफ्नो प्रतिद्वन्द्वीलाई ७–५, ६–३ ले हराएकी हुन्। सारापोभाले अप्रिलमा डोपिङ प्रतिबन्धबाट फुकुवा भएयता उपाधि जित्न सकिरहेकी छैन। डोपिङमा दोषी ठहरिएर १५ महिना प्रतिबन्धमा परेकी उनले यसअघि अप्रिलमा स्टुटगार्ट ओपनमा प्रगति गरेकी थिइन्। गत साता मात्रै पनि सारापोभा विश्व नम्बर एक सिमोना हालेपसँग चाइना ओपनमा हारेकी थिइन्।
सारापोभाले लिनेटविरुद्ध पहिलो सेटमा ४–३ ले अग्रता लिए पनि लिनेटले यो सेट टाइब्रेकसम्म तानेकी थिइन्। तर सारापोभाले १२औं गेममा ब्रेक गर्दै १–० सेटले अगाडि बढेकी थिइन्। ३० वर्षीया पाँच पटकका ग्रान्डस्लाम च्याम्पियनले दोस्रो सेटमा शुरूआतमै ब्रेक पाइन्। उनले सेमिफाइनल पुग्न स्विस क्वालिफायर खेलाडी स्टेफानी भोजेलसँग खेल्नेछिन्। स्टेफानीले युलिया पुटिनटसेभालाई ६–२, ६–३ ले पराजित गरेकी थिइन्।











प्रतिक्रिया