चिकित्सा शिक्षा विधेयक पास गर्ने विषयमा प्रमुख दलहरू छलफलमा,अन्यौल कायमै



नेपाल समाचारपत्र, काठमाडौ ।
पटकपटक संसदको सम्भावित कार्यसूचीमा परेर पनि हट्दै आएको चिकित्सा शिक्षा विधेयक पास गर्ने विषयमा प्रमुख दलहरू छलफलमा जुटेका छन्।

संसदको महिला बालबालिका समितिबाट सर्वसम्मतले पारित भएको विधेयकका केही प्रावधानमा डाक्टर गोविन्द केसीले असहमति जनाउँदै आएका छन्।

१३ औँ अनसनमा रहेका केसीका मागहरू सम्बोधन गरेर अगाडि जान सरकार तयार भएपनि प्रतिपक्षी एमालेले प्रक्रियामा असहमति जनाउँदै आएको छ। संसदको अवधि सकिन लागेका कारण शिक्षा मन्त्रीले संसद बैठकबाट विधेयकका केही संशोधन स्वीकार गरेर पास गर्ने तयारी सत्तापक्षले गरेको थियो।

तर, एमालेले भने विधेयक माथि संसदको समितिमा छलफल भैसकेको र सर्वसम्मतबाट पारित भैसकेका कारण मन्त्रिपरिषद्को बैठकबाट परिवर्तन गर्न नमिल्ने अडान राख्दै आएको छ ।

एमालेको अडानका कारण मंगलबारको संसदको कार्यसूचीबाट विधेयक पारित गर्ने कार्यक्रम हटाइएको थियो। विधेयक पास गर्ने सम्बन्धमा सभामुख ओनसरी घर्तीले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, दलका सचेतक र सांसदहरूसँग अहिले छलफल गरिरहेकी छिन्।

विधेयक अगाडि बढाउने छलफलमा काँग्रेस सांसद गगन थापा र एमालेका सांसद राजेन्द्र पाण्डे समेत सहभागी बनेका छन्। संसद बैठक १ बस्दै छ । विधेयक पारित हुने अथवा नहुने भन्ने विषय अझै पनि अन्योल्मै रहेको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्