कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता छः राष्ट्रपति

0
Shares

जुम्ला, राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताएकी छन्।

चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कर्णाली अथाह सम्भावना र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएको बताइन्।

उनले भनिन्‘कर्णाली क्षेत्र भाषा, संस्कृति, कलाको ऐतिहासिक भूमि हो नै, त्यसको अलवा दुर्लभ वनस्पति तथा वन्यजन्तु र बहुमूल्य वस्तु प्राप्त हुने मूल स्रोत पनि हो।’

राष्ट्रपति भण्डारीले यति हुँदा पनि यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास हुन नसक्दा यहाँका नागरिकले सहज जीवनयापन गर्न नसकेकोप्रति सहानुभूति प्रकट गरिन्।

जलवायु परिवर्तनलाई ध्यानमा राखेर यो क्षेत्रको विकासका लागि राज्य कर्णाली केन्द्रित हुनुपर्ने उनको भनाई थियो।

सदियौँदेखि उत्पीडित क्षेत्र, वर्गलाई राज्यको मूल प्रवाह ल्याउन अधिकतम प्रयास भइरहेको जनाउँदै राष्ट्रपति भण्डारीले विकासमा कर्णालीलाई उच्च प्राथमिकतामा राखिएको बताएन्।

पछिल्लो समयमा लोकतन्त्रले विकासमा सम्भावनाको ढोका खोलेको उनको भनाई थियो ।

विशेषगरी सरकारी सामुदायिक विद्यालयले मुलुक विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले ज्ञान–विज्ञानसँग जोडिएको प्रयोगशाला सञ्चालन सफलताको कामना गरिन्।रासस