ललितपुर लन टेनिस शुरू


 

नेपाल समाचारपत्र
काठमाडौं
ललितपुर जिल्ला लन टेनिस संघको आयोजनामा मंगलबारदेखि दोस्रो ललितपुर जिल्ला राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०१७ शुरु भएको छ।

प्रतियोगिताको पहिलो चरणमा पुरुष सिंगल्सका १२ र महिला सिंगल्सका ६ खेल सम्पन्न भएका हुन्। ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको पुरुष सिंगल्सतर्फको खेलमा जयजिभ हाडाले सक्षमविक्रम शाहलाई ६–०, ६–३ को सोझो सेटमा पराजित गरे। रोशन केसीले श्रीयोग अधिकारीलाई ६–०, ६–० तथा महेश श्रेष्ठले जीवन घिमिरेलाई ६–०, ६–२ ले हराएका थिए।

यसै गरी सुव्रत बस्नेत र मुक्तिसेन गुरुङ, सीमान्त गुरुङ, अभिनव आचार्य, मानबहादुर कटुवाल वाकओभरको आधारमा विजयी हुँदा विजय श्रेष्ठले निसान श्रेष्ठलाई ६–१, ६–० ले तथा प्रणव खनालले गोपाल दास मानन्धरलाई ६–०, ६–१ ले पन्छाए। यस्तै गौरव प्रताप शाहीले इभ्यक जोशीलाई ६–०, ६–० को सोझो सेटमा हराउँदा श्रीराम मगरले पनि रोहित सुनुवारलाई ६–१, ६–२ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेका छन्।

प्रतियोगिताको महिला सिंगल्सअन्तर्गत खेलमा शुभांगीलक्ष्मी शाहले आयशा डोल्कर गुरुङलाई ६–२, ७–५ ले पराजित गर्दा गंगा शर्माले स्नेहा यादवलाई ६–० ६–१ ले तथा भगवती बीकेले रायना शाहलाई ६–१, ६–४ ले पाखा लगाइन्। यस्तै सलोनी तामाङले इशाश्री शाहलाई ७–६, ६–० ले हराउँदा बिजिशा श्रेष्ठले प्रकृति श्रेष्ठलाई ६–०, ६–२ ले तथा प्रेरणा कोइरालाले अभिलाषा विष्टलाई ७–५, ६–३ ले पराजित गरिन्।