देउवाको ‘टेकुवा’ बन्न एक महिनाका लागि राप्रपा सरकारमा !


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थनका लागि पत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको टोलीले पार्टीका तर्फबाट सरकारलाई समर्थन रहेको भन्दै पत्र बुझाएको हो ।

समर्थन पत्र बुझाएपछि पार्टीका नेता दिलनाथ गिरीले निर्धारित समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुनिश्चितताका लागि वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

‘सरकारको प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पार्टी एकीकरण गर्ने उद्देश्यले गठबन्धन बनाउने सहमति गरेपछि सरकारलाई अल्पमतमा पर्न नदिन हामीले समर्थन गरेका हौँ’, शर्माले भन्नुभयो ।

यसअघि सोमबारै प्रमुख सचेतक शाहीले व्यवस्थापिका-संसद्को सचिवालयमा वर्तमान सरकारलाई समर्थन सहितको पत्र दर्ता गराउनुभएको थियो ।

यसैबीच राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले सोमबार प्रधानमन्त्री देउवासँग भेट गरी मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्नुभएको छ ।

छलफलमा सरकारलाई पार्टीले समर्थन गर्ने, लोकतान्त्रिक दलबीच एकता कायम गरी चुनावमा जाने, संविधान कार्यान्वयनमा सहज वातावरण बनाउनेलगायत विषयमा छलफल केन्द्रित रहेको उपाध्यक्ष तामाङले जानकारी दिनुभयो