राप्रपा सरकारमा सामेल हुने

0
Shares

 

नेपाल समाचारपत्र,काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सरकारमा सहभागि हुने भएको छ । सरकारमा रहेर पनि प्रमुख प्रतिपक्षदल नेकपा एमाले गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवाले माओबादी केन्द्रका मन्त्रीहरुलाई हटाउने चर्चा चलिरहेको बेला राप्रपाले सरकारमा सहभागिता जनाउन खोजेको हो ।

सरकारमा सभागि हुने उदेश्यले राप्रपाको सोमबार बसेको कार्यसम्पादन समिति बैठकले काग्रेस सभापति समेत रहेका देउवाको नेतृत्वमा गठित वर्तमान सरकारलाई समर्थन दिने निर्णय गर्दै यसवारेमा सोमबारनै संसद सचिवालय र नेपाली कांग्रेसलाई जानकारि दिएको छ ।

राप्रपाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलसंग पार्टी एकता र चुनावमा सहकार्य गर्ने निर्णय गरे पश्चात सरकार अल्पमतमा पर्न सक्ने, राजनीतिक अस्थिरता खडा हुने तथा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नै धरापमा पर्न सक्ने संभावनालाई दृष्टिगत गर्दै चुनावको सुनिश्चताको निमित्त देउवा नेतृत्वको सरकारलाई समर्थन दिएको जनाएको छ । देउवाले राप्रपा अध्यक्ष थापालाई उपप्रधान एवं गृह मन्त्रालय दिने तयारी गरेको बताइएको छ ।

प्रवक्ता सुशील कुमार श्रेष्ठले जानकारी दिए अनुसार बैठकले राष्ट्रियता र प्रजातन्त्रको सदृढिकरण, पार्टीको एजेण्डाको सबलिकरण तथा मुलुकको आर्थिक सम्बृद्धिको लक्ष्य प्राप्त गर्न राप्रपाले आगामि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस र अन्य प्रजातान्त्रिक शक्तिहरुसंग तालमेल तथा सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कार्य योजना पारित गर्दै केन्द्रिय निर्वाचन परिचालन समिति, आर्थिक समिति, प्रशिक्षण समिति, घोषणापत्र तयारी समिति लगाएत विभिन्न समितिहरु पनि गठन गरेको थियो ।