डीआईजी सिलवालको राजीनामा गृहमन्त्रालबाटै गायब !


नेपाल समाचारपत्र,काठमाडौं । केहि दिन अघि मात्र एमाले प्रवेश गरेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले पदबाट दिएको राजीनामा प्रहरी मुख्यालयले स्वीकृतिका लागि पठाएको २० दिन पुग्दा पनि राजीनामा स्वीकृत हुन सकेको छैन ।

भदौ २८ मा सिलवालले दिएको राजीनामा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सनाखत गरी स्वीकृतिका लागि असोज १ गते गृहमन्त्रालय पठाएको पत्र गृह सचिवले बुझ्न नमान्दा स्वीकृत हुन नसकेको सिलवाल निकट स्रोतले बताएको छ ।

उनको राजीनामा स्वीकृति गर्नु मनासिव हुने व्यहोराको पत्रमा आईजीपी अर्याल आफैंले हस्ताक्षर गरेका थिए ।

गृह सचिव लोक दर्शन रेग्मीले नियतवशः राजीनामा स्वीकृती रोकेको आरोप सिलवालले लगाएका छन् । सिलवाल एमालेमा प्रवेश गरेपछि राजीनामा स्वीकृत नभई राजनीतिमा लागेको भनेर दुःख दिने नियोजित उद्देश्यबाट प्रधान कार्यालयको पत्र गायव पारिएको आरोप सिलवाल पक्षले लगाएको छ ।

सिलवालको राजीनामा स्वीकृतिका लागि पठाइएको पत्र मन्त्रालयमा दर्ता भइसकेको छ । तर, सचिव रेग्मीले सो पत्रको व्यहोरो नमिलेको भन्दै फीर्ता पठाएको स्रोतले जनाएको छ ।

यद्यपी रेग्मीले भने राजीनामा स्वीकृतिको पत्र आफूले नपाएको दावी गरेका छन् ।