गृहमन्त्रीसँग पुर्व जनसरकार प्रमुख लड्दै,पत्रकार पनि प्रदेशका लागि सिफारिसमा परे

0
Shares

धनवीर दाहाल,रुकुम ।
आगामी प्रतिनिधि सभा सदस्य निबार्चनमा प्रत्यक्ष तर्फ गृहमन्त्री जनार्दन शर्मासँग तत्कालिन माओबादी जनसरकार प्रमुख सरुण बाँठा लड्ने भएका छन् ।

माओबादी केन्द्र रुकुमले प्रदेश नं ६ मा पर्ने पश्चिम रुकुममा प्रतिनिधिसभाका लागी शर्मालाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । त्यस्तै नयाँ शक्ति रुकुमले पनि पार्टीका केन्द्रीय परिषद सदस्य एवं गृहमन्त्री शर्मासँग तत्कालिन जनयुद्धको बेला सँगै काम गरेका तथा जनयुद्धका बेला माओबादीले संचालन गरेको जनसरकारका प्रमुख सरुण बाँठालाई उम्मेदवारको लागी सिफारिस गरेको हो ।

माओबादी केन्द्रले प्रतिनिधि सभा र प्रदेशसभाको लागि उम्मेदवारहरु टुङगो लगाएको छ । सदरमुकाम मुसीकोटमा मंगलबार सम्पन्न वैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदारमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई सर्वसम्मत रुपमा सिफारिस गरेको ईन्चार्ज राजकुमार शर्माले जानकारी दिए । यसैगरी वैठकले प्रदेश सभामा क्षेत्र नं २ बाट जिल्ला संयोजक गोपाल शर्मालाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेशसभाको लागि क्षेत्र नं १ मा भने उम्मेदवारका आकांक्षीहरुको संख्या धेरै भएकोले ८ जनाको नाम सिफारिस गरिएको इन्चार्ज शर्माले जानकारी दिए । क्षेत्र नंं १ को उम्मेदवारको लागि विमला के.सी, महेन्द्र केसी, रातो कामी, अनिल शर्मा, बुद्धिप्रसाद शर्मा, बसन्त शर्मा, कलबहादुर नाथ महान र जयबहादुर पाण्डेलाई सिफारिस गरिएको वताइएको छ ।

यसैगरी प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ निमबहादुर वुढाथोकी, मिलन खड्का, पहलसिं घर्ती, दिपेन्द्र बि.क, लक्ष्मी शर्मा र लुम्बीनी गौतमलाई सिफारिस गरिएको छ । बैठकले प्रदेशसभाको लागि समानुपातिक तर्फ पुष्प वादी, लक्ष्मी पुन, मिनवहादुर ओली, गणेशकुमार केसी, मनवहादुर वादी र प्रतिभा केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला समितिले सिफारिस गरिएका नामहरुबाट उम्मेदवारहरुको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउने जिल्ला इन्चार्ज राजकुमार शर्माले जानकारी दिए । पुर्वी रुकुममा भने पार्टीको बैठक जारी रहेको र केही दिनमै टुंगो लाग्ने माओबादी केन्द्र पुर्वी रुकुमले जनाएको छ । यसै गरी नयाँ शक्ति पार्टी पुर्वी र पश्चिम दुवै रुकुमले पनि उम्मेदवारको टुंगो लगाएको छ ।

नयाँ शक्ति पार्टी पश्चिम रुकुमले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको सरुण बाँठामगर र समानुपातिक तर्फ अमर ओलीलाई सिफारिस गरेको छ । मंगलबार पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो ।

प्रदेश सभाका लागी क्षेत्र नं १ प्रत्यक्ष तर्फ श्री डम्वर बिष्टलाई सिफारिस गरेको छ । बिष्ट पत्रकार पनि हुन् । उनी लामो समयदेखी रुकुममा रहेर पत्रकारिता गरिरहेका छन् भने प्रेस सोसाइटी प्रदेश नं ६ का संयोजक हुन् । यस्तै समानुपातिक तर्फ अर्जुन विश्वकर्मा,क्षेत्र नं २ मा प्रत्यक्ष तर्फ प्रेम कुमार आचार्य र समानुपातिक तर्फ ताराकुमारि पुन घर्तीलाई सिफारिस गरेको हो ।

यस्तै पुर्वी रुकुमको लागी प्रतिनिधि सभा प्रत्यक्ष तर्फ राखिमान घर्ती र समानुपातिक तर्फ उपेन्द्रलाल कामीको नाम सिफारिस गरेको हो । अन्य दलले भने छलफलमै व्यस्थ रहेको बताएका छन् ।