मालाश्री ट्रष्टद्वारा विद्यार्थीहरुलाइ सम्मान प्रदान

0
Shares

नेपाल समाचारपत्र, रामेछाप।

मन्थली नगरपालिका –२ सालु रामेछापमा अवस्थित सेतीदेवी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मालश्री काफ्ले मेमोरियल ट्रष्टले विभिन्न विधामा सम्मान प्रदान गरेको छ ।

कार्यक्रममा २०७३ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने सो स्कुलकी छात्रा सरस्वती मोक्तानलाई रु.११ हजार नगद तथा पदक सहित मालश्री अवार्ड प्रदान गरेको हो ।

अन्य उत्तीर्ण २९ जना विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको थियो । स्कुलमा हाल ६०० जना विद्यार्थीहरु अध्ययनरत छन् । त्यहाँ अध्ययनरत कक्षा ११ र १२ का २० जना विद्यार्थीहरुलाई रु.५ हजारका दरले छात्रवृति रकम पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा ट्रष्टकी अध्यक्ष श्रीमती निलीमा काफ्लेले सहयोग सानो भएपनि विद्यार्थीहरुको उत्साह र लगाव बढाउने अभिप्रायले विगत ३ वर्षदेखि यस किसिमका कार्यक्रम गर्दै आएको बताउनु भयो ।
ट्रष्टका सदस्य नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले स्कुलमै एक जान सिएमए वा अनमी नियुक्ति गरी सामान्य स्वास्थ्य क्लिीनिक पनि सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

रामेछापको सालुमा जन्मेका काफ्ले सो विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका छन् । उनकी छोरी मालश्री काफ्लेको सम्झनामा खोलिएको ट्रष्टले रामेछापका विभिन्न स्कुलमा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति रकम, एम्बुलेन्स वितरण गर्नुका साथै नेपालका विभिन्न ठाउँहरुमा निःशुल्क स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्दे आएको छ ।