भन्सार छलीको सामान बरामद

0
Shares

नेपाल समाचारपत्र
भद्रपुर
झापाको कचनकवल–४, केचना बजारमा रहेको केचनाबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरले भन्सार छली गरेर ल्याईंदै गरेको सामान बरामद गरेको छ। जिल्लाबाट गएको सशस्त्र प्रहरीको विशेष टोलीले विभिन्न प्रकारका अन्दाजी ५० हजार मूल्य बराबरको समान बरामद गरेको हो।

झाको छोटी भन्सार विगत १० वर्ष देखि बन्द भएसँगै तस्करी गतिविधिले निरन्तरता पाएको बेला सशस्त्र प्रहरीले यतिको मात्रामा सामान बरामद गरेको हो। विशेष टोलीले सामान बरामद गरेसँगै स्थानीय प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको पक्का भएको आरोप स्थानीयले लगाएका छन्।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरका अनुसार बिहीबार अपरान्ह भारतबाट दुईओटा साइकलमा हालेर नेपाल ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरिएको हो। बरामद गरिएको सामानमा साइकल पार्टस्, झ्याल–ढोकाको सामान, कपडा, बिँडी, खेलौना लगायत रहेका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरका एसपी रमेश सुवेदीका अनुसार टोली पुगेसँगै कारोबारीले साइकल छाडेर भागेपछि सामान बरामद गरिएको हो। अन्दाजी ५० हजार रुपियाँ मूल्य बरावरको बरामद सामानलाई आवश्यक कारवाहीका लागी मेची भन्सार कार्यालय, काँकड्भिट्टामा बुझाइने भएको छ।

स्थानीय प्रहरी खटाएपनि तस्करी नरोकिएको अवस्थामा जिल्लाबाट गएको टोलीले सामान बरामद गरेको हो।

यसैगरि केचना र पथरियामा रहेको नेपाल प्रहरी टोलीले संयुक्तरूपमा २० हजार रुपियाँ मूल्य बरावरको बारुदजन्य पटका (खुर्सानी बम) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापाको अनुसार भारतबाट टाउकोमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कचनकवल–२, चियावगानबाट बिहीवार साँझ पटका बरामद गरिएको हो। बरामद सामाग्रीलाइ जिल्ला प्रहरी कार्यालयमा राखिएको एसपी केसीले जानकारी दिनुभयो।