ठेकेदारको लापर्वाहीले पुल निर्माण रोकीयो

0
Shares

धनवीर दाहाल, रुकुम । पश्चिम रुकुमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका वडा नं १ र बाँफिकोट गाँउपालिका वडा नंं. १० लाई जोड्ने गाँराघाट मोटरेवल पुल निर्माणको काममा ढिलाई भएको छ ।

गत असार देखी रोकिएको मोटरेवल पुलको काममा ढिलाई हुँदा यो क्षेत्रका सर्वसाधारण चिन्तित् बनेका छन् । मोटरेवल पुल निर्माणको जिम्मा लिएको ठेकेदारले वर्खा लागेको भन्दै काम रोकेपछि पुल निर्माणको काममा ढिलाई भएको स्थानीयले बताएका छन् । “बर्षातको समयमा भएकोले काम गर्न मिल्दैन भनेर ठेकेदारहरु गएका हुन् ।

अहिले सम्म पनि काम पुनः सुचारु भएको छैन । कहिले आउने हुन् कुनै जानकारी छैन ।” स्थानीय बासी पतिराम के.सीले भने “पुल निमार्णमा ढिला नगरे हुन्थ्यो । जति सक्यो काम छिटो भयो भने राम्रो हुने थियो ।” यस्तै पुलको काम तत्काल सुचारु गर्नको लागी स्थानीय सरकारले पहल गरिदिनुपर्ने स्थानीय लालबहादुर बि.कले बताए । उनले भने “काममा ढिलाइ भएकै छ । छिटो सुचारु गर्नको लागी सरकारले पनि पहल थाल्नुपर्छ ।”

ढिलाई भईरहेको पुल निर्माणको काम सुरु नभएपछि तोकिएको समय अवधिभित्र काम सम्पन्न नहुने अवस्थामा पुगेको छ । पश्चिम रुकुमको मुख्य व्यापारिक केन्द्र मानिएको छिन्खेत, राडीबजार हुँदै डोल्पासम्मको सडक यातायात सेवालाई जोड्ने गरी सोे मोटरेवल पुलको काम सुरु गरिएको थियो । तर काम रोकिएको तीन महिना बितिसक्दा पनि हाल सम्म मोटरेवल पुलको काम पुनः सुचारु नभएपछि स्थानीयबासी मर्कामा परेका छन् ।

यसअघि यस क्षेत्रका नागरिकहरुले मोटरेवल पुलको व्यवस्था गरिदिन माग गर्दै पटक–पटक आन्दोलन समेत गरेका थिए । २०३२ सालदेखी हालसम्म संचालनमा रहेको गाँराघाट बजारको झोलुंगे पुलको अवस्था समेत जिर्ण बनेकाले यहाँका स्थानीयलाई थप आवातजावतमा समस्या हुने गरेको छ ।