रुकुममा बाल श्रमिकको संख्या घट्दै

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुममा विगतको वर्षमा भन्दा यस वर्ष बालश्रमिकको संख्या घटेको छ । जिल्ला सदरमुकाम मुसिकोटका विभिन्न होटेल, पसल तथा उद्योगहरुमा सोमबार गरिएको एक अनुगमणका आधारमा गत वर्षको तुलनामा यो वर्ष बालश्रमिकको संख्याकम रहेकोे छ ।

बालश्रम न्यूनिकरण सम्बन्धि जिल्लाबाल कल्याण समितिको अगुवाईमा सदरमुकाम मुसिकोटको खलंगाबजार, पातुखोला र बागबजारमा गरिएको अनुगमणका क्रममा बालश्रमिकको संख्या कम रहेको पाईएको छ । झण्डै २५ भन्दा बढी होटेल,पसल तथा उद्योगहरुमा गरिएको अनुगमणमा १६ वर्ष मुनिका चार जना बालश्रमिकहरु भेटिएका छन् ।

गएको वर्ष रुकुममा २७ जना बालबालिकाहरु बालश्रमिकको रुपमा काम गरिरहेको अवस्थामा भेटिएका थिए । तर, यो वर्ष भने रुकुममा बाल श्रमिकको संख्या कम हुँदै गएको र अझै ठोस तथ्याङ्क निकाल्न बाँकी रहेको वालअधिकार अधिकृत मानविर ओलीले बताउनुभयो ।

अनुगमणका क्रममा विभिन्न होटेल, पसल तथा उद्योगमा काम गरिरहेका बालबालिकाहरुलाई अबदेखी बाल श्रमिकको रुपमा प्रयोग नगर्न पनि व्यवसायीहरुलाई आग्रह गरिएको छ । यदि उक्त आग्रहलाई अटेर गरेको अवस्थामा कानुन अनुसारको दण्ड जरिवाना समेत लाग्न सक्ने जानकारी गराईएको छ ।