वडा नागरिक मञ्च र सचेतना केन्द्रको भूमिका बढाउनुपर्ने माग

0
Shares

धनवीर दाहाल, रुकुम । पोखरा गाउँकी वडा नागरिक मञ्च सदस्य यमुना खड्काले अघिल्ला वर्षहरुमा बस्तीबस्ती र टोलटोलबाट योजना पहिचान गरी छनौट गर्नुभएको थियो । तर यो वर्ष भने उहाँले न कुनै योजना छनौट गर्न पाउनुभयो नत कुनै योजना तर्जुमा नै भाग लिनु भयो । न त उहाँका कुनै योजनाहरु नै कतै छनौट नै भए । अघिल्ला वर्षहरुमा वडा परिषद हुँदा बस्तीबस्तीबाट योजना छनौटमा भाग लिएकी यमुना यो वर्ष भने भूमिका विहिन हुनुभयो । किनभने यो वर्ष जनप्रतिनीधिहरु गाउँमा निर्वाचित भईसकेका थिए ।

जन प्रतिनीधिहरु नहुँदा गाउँको योजना तर्जुमा देखि अन्य कार्यमा सक्रिय भएका मञ्चका सदस्यहरुको भूमिका जनप्रतिनीधिहरु आएसँगै निश्क्रिय र भूमिका विहीन बनाउन थालेपछि मञ्चका सदस्यहरुको गुणासो रहेको छ । विभिन्न योजना तर्फुमा र वस्तीवस्तीमा जनप्रतिनीधिहरु नपुगेपछि मञ्चका सदस्यहरुले आफ्नो भूमिका खोज्न थालेका छन् । स्थानीय स्तरमा गठित वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रको भूमिका बढाउने पर्ने माग केन्द्रका सदस्यहरुले माग गरेका छन् । स्थानीय तहमा जनप्रतिनीधिहरु नभएको अवस्थामा वडा तथा गाउँहरुमा हुने विभिन्न विभिन्न कार्यक्रमहरुलाई सघाउन र गाउँघरलाई शसक्त बनाउन भन्दै नेपाल सरकारले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसिडिपी कार्यक्रम लगायत अन्य कार्यक्रमहरु लागू भएका गाविस तथा नगरपालिकाहरुमा वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्र गठन गरिएको थियो ।

वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्र गठन भएदेखि वडा, गाविस तथा नगरपालिकालाई खुला दिशामुक्त बनाउन, सरसफाई अभियानमा सक्रिय, चर्पि निर्माणमा अभियान, सार्वजनिक काममा सक्रिय, समुह लगानी, बचत, घुम्ती सेवा कार्यक्रम, नैतिक तथा सामाजिक कक्षा सञ्चालन, तथा वडा, ईलाका, गाविस तथा नगरपरिषदमा समेत योजना तर्जुमा गर्दा छलफल एवं योजना छनौट गरिदै आएको थियो । तर पछिल्लो पटक स्थानीय निकायमा जनप्रतिनीधिहरु निर्वाचित भएको अवस्थामा र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसिडिपी) कार्यक्रम सकिएको भन्ने खबरले वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रका सदस्यहरु निराश भएका छन् । उनीहरुले वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रलाई निश्क्रिय पार्ने नभई झनै सक्रिय पार्नुपर्ने बताएका छन् ।

स्थानीय निकायमा जनप्रतिनीधिहरु नआएको अवस्थामा वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसलाई विचैमा छोड्न नहुने साविक पोखरा २ का वडा नागरिक मञ्चका संयोजक जसीमन्त खड्को भनाई रहेको छ ।

 

हरेक दिन र महिनामा हुने कार्यक्रमहरुलाई सफल पार्न र सक्रिय बनाउन वडा नागरिक मञ्चर नागरिक सचेतना केन्द्रको मुख्य भूमिका रहेकोले अँझै शसक्त बनाउनु पर्ने जनप्रतिनीधि सिस्ने गाउँपालिका ३ का वडा अध्यक्ष पशुपति खड्काको पनिजोड रहेको छ । त्यस्तै साविकको रुकुमकोट गाविसका वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रका सदस्यहरुले पनि आफुहरुको भूमिका बढाउनुपर्ने माग गरेका छन् । रुकुमकोट ५ का वडा नागरिक मञ्चका संयोजक दामोदर शर्माले अहिलेका जनप्रतिनीधिहरुले योजना छनौट गर्दा गाउँगाउँमा र वस्ती वस्तीमा नपुगेकोले पुरानै वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रले राम्रो भूमिका खेलेकोले झन भूमिका बढाउनुपर्ने माग गर्नुभयो ।

त्यस्तै स्यालापाखा ९ का नागरिक सचेतना केन्द्रका संयोजक गोवद्र्धन रावतले कार्यक्रम थप गर्नुका साथै गाउँमा गठित नागरिक मञ्च र सचेतना केन्द्रले समाज परिवर्तनमा सकारात्मक भूमिका खेलेकोले भूमिका बढाउन अनुरोध गर्नुभयो । उहाँका अनुसार वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रकै सहयोगले लागु भएका कार्यक्रमहरु सफल भएको भन्दै पछिल्लोपटक केन्द्रलाई निस्क्रिय बनाउँदा भविष्यमा लागू हुने अन्य कार्यक्रमहरु प्रभावित हुने बताउनुभयो ।

वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्र गाउँमा गठन हुँदा गाउँमा हुने सबै प्रकारका सार्वजनिक काम तथा कार्यक्रमहरुमा एकताबद्ध हुन सहयोग मिलेको वडा नागरिक मञ्चका सदस्यहरु बताउँछन् । त्यतिमात्र नभई गाउँमा लागु हुने हरेक कार्यक्रमहरुको लेखाजोखा गर्न र सल्लाह सुझाव दिने काम समेत केन्द्रले गर्ने गरेका छन् ।