८८ किलो सुनका मालिक चिनियाँ दम्पतीलाई भगाइयो


 

दीपक रिजाल, काठमाडौं
१० वर्षअघि सामान्य व्यापारीका रूपमा नेपाल प्रवेश गरेका एक चिनियाँ दम्पतीले अवैधरूपमा ल्याएको ८८ किलो सुन काठमाडौंमा समातिएपछि उनीहरूले यसअघि गरेका अवैध धन्दा बाहिर आएको छ। चीनको राजधानी बेइजिङनजिकैबाट नेपाल आएका चिनियाँ दम्पती वान विइ मिङ र याङ बेन विङले व्यापारका नाममा नेपालमा बसेर अवैध धन्दा चलाएको तथ्य फेला परेको छ।

व्यापार गर्ने नाममा उनीहरूले ठमेलमा काठमाडौं वान होटल सञ्चालन गरेका थिए। शुरूमा चिनियाँ पर्यटकहरूलाई सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त होटलबाट तस्करीको सञ्जाल सञ्चालन गर्दै आएका ती दम्पतीले सुन तस्करी गर्नुअघि रक्तचन्दनको तस्करी गर्दै आएको रहस्य खुलेको छ। भारतबाट नेपाल बाटो हुँदै तिब्बत जाने रक्तचन्दनको व्यापारमा रोक लागेपछि ती दम्पतीले तिब्बतबाट अवैधरूपमा सुन ल्याउने र नेपालमा अवैधरूपमा संकलन गरेको विदेशी मुद्रा अवैधरूपमा चीन पठाउने काममा संलग्न रहँदै आएका थिए।

चीनबाट नेपाल घुम्न आउने चिनियाँ पर्यटकलाई बढी मूल्यमा चिनियाँ युआन तथा अमेरिकी डलर खरिद गर्ने गरेको तथ्य फेला परेको छ। ‘ती चिनियाँ दम्पतीले तातोपानी नाका बन्द भएपछि केरुङ नाकालाई तस्करीको मुख्य प्वाइन्ट बनाएको देखिन्छ।’ –अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए।

ती चिनियाँ दम्पतीले रसुवागढी नाकाको नेपालतर्फका केही सरकारी कार्यालय निमार्ण गर्न व्यक्तिगत रुपमा सहयोग गरेको समेत देखिएको तथ्य फेला परेको छ। काठमाडौं–केरुङ रुटमा झन्डै २० वटा जिप सञ्चालन गरेका ती दम्पतीको गाडी कहीँ कतै चेक नभई राजधानी भित्रिने गरेको तथ्यसमेत फेला परेको छ। आफ्ना केही सहयोगीलाई तिब्बतको केरुङमा राखेर तिब्बतबाट सुनलगायतका सामान नेपाल तस्करी गर्ने र नेपालबाट अवैधरूपमा संकलन गरेको विदेशी मुद्रा तिब्बत पुर्याउने गरेको तथ्य प्रहरीले फेला पारेको छ।

आइतबार सुन समातिएपछि भागेर र्याडिसन पुगेका चिनियाँ दम्पतीलाई पक्राउ गर्न गएका अपराध महाशाखाको टोली पुग्नुअघि नै उनीहरू प्रहरीकै सहयोगमा भागेको समेत रहस्य पत्ता लागेको छ। चिनियाँ दम्पतीले तस्करीको लाइन चलाउन रसुवा, नुवाकोट र धादिङका केही स्थानीय क्लबका पदाधिकारीलाई समेत आर्थिक प्रलोभनमा पारेको देखिन्छ। उनीहरूले स्थानीय प्रशासनदेखि क्लबसम्मलाई किनेपछि एकछत्ररूपमा तस्करीको लाइन चलाएको देखिएको पनि प्रहरीका ती अधिकारीले बताए। ती दम्पतीको तस्करीको काममा उच्च सरकारी अधिकारीको समेत संलग्नता रहेको पाइएको छ। नेपालस्थित चिनियाँ दूतावासका कर्मचारीलाई समेत प्रभावमा पारेर तस्करी गरेको देखिन्छ। ‘यसमा चिनियाँ दूतावासका कर्मचारीको संलग्नताको बारेमा अनुसन्धान गरिरहेका छौं।’ –एक प्रहरी अधिकृतले जानकारी दिए।

चिनियाँ दम्पतीले सञ्चालन गरेको ट्राभल एजेन्सीको जिप चलाउने चालकलाई फ्ल्याट लिएर उनीहरूलाई चाहिने सबै सुविधा काठमाडौं तथा केरुङमा उपलब्ध गराउने गरेको र चालकहरूलाई सुरक्षा निकायले समेत कुनै कडा चेकसमेत गर्ने गरेका थिएनन्।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको १४ वटा चेक प्वाइन्टसमेत छली गरी राजधानी भित्रिएको उक्त सुन पक्राउपछि अनुसन्धानमा लागेको प्रहरीले सुन तस्करीमा संलग्न रहेको आशंकामा रसुवामा २ जनालाई पक्राउ गरे पनि मुख्य सुन मालिक चिनियाँ दम्पती भने भाग्न सफल भएका छन्। उनीहरूको खोजी गरिएको भनिए पनि मंगलबार उनीहरूले नेपाल छोडेको आशंका प्रहरीले गरेको छ।

१० वर्षको नेपाल बसाइको क्रममा चिनियाँ दम्पतीले १ सय १५ पटक नेपाल र चीनको यात्रा गरेको देखिन्छ।