खेलकुदको पूर्वाधार विकासमा रु ८० लाख खर्च

0
Shares

 

बनेपा, २० भदौ । काभ्रेपलाञ्चोकको खेलकुदको विकासका लागि पूर्वाधार विकासमा झण्डै रु ८० लाख खर्च भएको छ ।

आव २०७३÷७४ मा जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारी, महाभारत शृङ्खला डाडाँपारी, तेमाललगायत क्षेत्रमा खेलकुदको पूर्वाधार निर्माणमा उक्त बजेट खर्च भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

“सबै प्रकारका खेल खेल्नका लागि जिल्लाका विभिन्न ठाउँमा खेल मैदान निर्माण भएको छ”–जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सचितानन्द केसीले भन्नुभयो ।

जिल्लाको डाडाँपारीस्थित मिल्चे गाउँपालिकामा महाकाँल खेल मैदान, गोकुलेको भैरव माध्यमिक विद्यालयमा खेल मैदान, कोशीपारीस्थित चौरी देउराली गाउँपालिकाको प्रभा माविमा खेल मैदान, मादानकुडाँरीको सिर्जनशील मावि, तेमालको सस्र्यखर्कको जनचेतना मावि, पाचँखालको धर्म– प्रेम स्मृति खेल मैदान, मण्डनदेउपुरको वैरीपिपल खेल मैदान, मेथिनकोटको क्षेत्रीयस्तरको रंगशाला, नमोबुद्धको नमोबुद्ध खेल मैदान, बेथानचोक गाउँपालिकाको बेथान खेल मैदानलगायत १६ ठाउँमा खेल पूर्वाधार बजेट खर्च भएको छ ।

ती खेल मैदानमा रु तीन लाखदेखि रु १० लाखसम्म खर्च भएको छ । काभ्रेपलाञ्चोकमा फुटबल, भलिबल, कराँते, तेक्वान्दो, एथलेक्टिस, बुद्धिचाललगायत खेल बढी खेलिन्छ । यी खेलमा पनि फुटबलमा २००, भलिबलमा २०० मार्सल आर्टसअन्तर्गतका विभिन्न खेलमा करिब ५०० खेलाडी रहेको समितिका अध्यक्ष केसीले बताउनुभयो ।

काभ्रेबाट बुद्धिचाल प्रतियोगितमा नेपालमा प्रथम भएर मदनकृष्ण कायस्थ बुद्धिचाल खेलमा सहभागी हुन चीनसमेत पुग्नुभएको थियो । रासस