राहत उपलब्ध नगराएको नेपालगञ्जमा बाढीपीडितको प्रदर्शन

0
Shares

नेपाल समाचारपत्र,बाँके ।

बाँकेका बाढीपीडितले नेपालगञ्जमा प्रदर्शन गरेका छन् ।

सरकारले बाढीपीडितलाई राहत उपलब्ध नगराएको भन्दै पीडितहरुले नेपालगञ्जमा आक्रोश पोखेका छन् । गाउँगाउँबाट ट्याक्टरमा आएका बाढीपीडितले नेपालगञ्जमा नारा जुलुश गरेका थिए ।

‘विस्थापितलाई गास, बास र कपासको व्यवस्था गर, तत्काल राहत उपलब्ध गराउ, बाँच्न पाउने अधिकार सुरक्षित गर’ लगायतका नारा लगाउदै बाढीपीडितहरु फूल्टेक्राबाट बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

जिल्लाबाट गाउँपालिकामा पुगेको राहत जनप्रतिनिधिले वितरण गर्नुको साटो कार्यालयमा थन्क्याएर राखेको पीडितहरुको गुनासो रहेको छ । खडैयाका राजेन्दर कोरीले बाढी आएपछि चिउरा र चाउचाउबाहेक केही नपाएको बताउनुभयो । ‘गाउँपालिकाको कार्यालयमा राहतको गोदाम नै लागेको छ, तर हामीलाई दिइएको छैन, कोरीले भन्नुभयो ।

होलिया, बेतहनी, गंगापुर, मटेहियाबाट आएका बाढीपीडितले आफ्ना वडा कार्यालयमा राहत थन्किएको बताएका छन् । ‘चार किलो चामल, थोरै दाल र चिउरा दिएका थिए, त्यसपछि आएको सामान वडा कार्यालयमा थन्क्याएर राखिएको छ । वितरण गरिएको छैन, गंगापुरका हमिद मुकेरीले भन्नुभयो ।

बाढीपीडितहरुले प्रमुख जिल्ला अधिकारी रमेश केसी समक्ष जिल्लाबाट गएको राहत वितरण भए÷नभएको वडा कार्यालयहरुमा गएर अनुगमन गरिदिन अनुरोध गरेका छन् ।

लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिको ब्यानरमा सडकमा निस्केका बाढीपीडितले ७ बुँदे ज्ञापनपत्र पत्र बुझाएका छन् । संघर्ष समितिका संयोजक जगदीशबहादुर सिंह र सचिव राजकुमार शुक्लाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा बाढीपीडितलाई राहत, क्षतिपूर्तिको माग गरिएको छ । बाढीपीडितहरुले २०७१ सालको राहत उपलब्ध गराइदिन पनि आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी केसीले सरकारी घोषणाको राहत प्याकेज एक हप्ताभित्र गाउँमा पुग्ने आश्वासन दिनुभयो । २०७१ का बाढीपीडितका लागि आएको रकम फ्रिज भएर गएको, यसपालीका बाढीपीडितलाई राहत प्याकेजलगायतका बारेमा आफूले सक्दो गर्ने प्रजिअ केसीले आश्वासन दिनुभयो ।

बाढीपीडितलाई राहतका लागि संघर्ष समितिले यसअघि पनि ज्ञापनपत्र बुझाइसकेको थियो । त्यसबाबजुद राहतमा खासै प्रगति नभएपछि नेपालगञ्जमा आएर प्रदर्शन गरेको हो । मृतकलाई क्षतिपूर्ति, घाइतेको उपचार, विस्थापितलाई उचित गास, बास, कपाससँगै पीडितहरुलाई राहतको चर्को आवाज उठेपनि जनप्रतिनिधिले ‘हैकम’ जमाएको आरोप लागेको छ । ‘बाढीपीडितहरु भोकै छन्, अध्यक्षले भने गाउँपालिका कार्यालय र वडा कार्यालयमा राहत थुपारेर राखेको छ, समितिका सचिव शुक्लाले भन्नुभयो, त्यो त तत्काल वितरण गर्नु प¥यो नि ।’

जिल्ला दैवीप्रकोप उद्धार समितिले अहिलेसम्म यो वर्षको बाढीपीडितको तथ्यांक निकाल्न सकेको छैन । गाउँगाउँबाट अधिक मात्रामा फर्जी नामावली आएकाले तथ्यांक निकाल्न झमेला परिरहेको छ । ‘बाढी नै नभएको ठाउँबाट पनि नाम आएको छ । बाढी गएको ठाउँबाट पनि धेरै घरधुरी बढेर नाम आएको छ, स्रोतले भन्यो । वास्तविक बाढीपीडित नछुटुन् र फर्जीले राहत नपाओस् भनेर लागि परेको अधिकारीहरु बताउँछन् ।

प्रदेश र संघको चुनाव नजिकिएकाले कतिपय नेताहरु पीडितमैत्री देखिने कोसिस पनि गरेका छन् । सोमबारकै बाढीपीडितको जुलुशमा प्रशासन कार्यालयमै आएर मिसिने नेताको तछाडमछाड नै थियो । ज्ञापनपत्र बुझाउन थालेको ठाउँमा गएर फोटोमा देखिने प्रयास धेरै नेताले गरेका थिए । बाढीपीडितहरु भोकभोकै हुँदा नेपालगञ्जमा मस्ती गर्ने नेताहरु उनीहरुले आन्दोलन गरेर ज्ञापनपत्र बुझाउने बेलामा भने प्रकट हुने गरेका छन् ।

गाउँपालिकाका प्रमुख र वडाध्यक्षहरुले पनि चुनावलाई मध्येनजर गरेर राहत वितरण गरेको स्रोतहरु बताउँछन् । आ–आफ्नो प्रभाव रहेको ठाउँमा जनप्रतिनिधि र नेताहरुले ‘फोकस’ गरेका छन् । जिल्लामा पहुँच भएका नेताहरुले पनि आफ्नो प्रभाव रहेको ठाउँमा राहत वितरण गरेका छन् । बैंकले सहकार्य गरेको राहत पनि नेताहरुले आफ्नो प्रभाव रहेको ठाउँमा वितरण गरेका छन् ।