भ्रष्टचारीले चुनाव लड्न नपाउने


नेपाल समाचारपत्र, काठमाडौ ।

भ्रष्टाचार, बलात्कार जस्ता मुद्दामा दोषी ठहर भएका व्यक्तिले प्रदेश र केन्द्रको चुनावमा भाग लिन नपाउने भएका छन् । कांग्रेसले संशोधन विधेयक फिर्ता लिएपछि भ्रष्टाचार ठहर भएका व्यक्तिले चुनावमा भाग लिन नपाउने भएका हुन् ।

कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, राधेश्याम अधिकारी, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुष्कर आचार्य, मीनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, नरबहादुर चन्दलगायत १९ सांसदले छुट्टाछुट्टै संशोधन दर्ता गरी नैतिक पतन प्रमाणित भई सजाय पाएकालाई ३ वर्षपछि उम्मेदवारी दिन पाउने संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले त्यस्ता व्यक्तिले मतदानमा भाग लिन नपाउने विधयेक पारित गरेको सांसद गंगालाल तुलाधरले बताए ।