साताव्यापी रुपमा बिबिध कार्यक्रमका साथ साक्षरता दिवस मनाईने

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
सरकारले यसवर्षको ३८ औ राष्ट्रिय शिक्षा दिवस तथा ५१ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस बिबिध कार्यक्रका साथ साताव्यापी रुपमा मनाउने भएको छ । अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक चूडामणि पौडेलले संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नारा सहित राष्ट्रिय शिक्षा दिवस र प्रबिधि युग सापेक्ष साक्षरता भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साक्षरता दिवस आउँदो आईतबार १७ गतेदेखि मनाईने बताउनुभयो ।

कार्यक्रम अनुसार १८ गते केन्द्रमा बृक्षारोपण गरेर सुरु हुने साताव्यापी अभियानमा भक्तपुरको गुण्डुमा साक्षरताले जीवनमा ल्याउने परिवर्तन शिर्षकमा सडक नाटक प्रर्दशनी, काठमाण्डौंको नाङ्लेभारे स्थित पटापमा साक्षरताले जीवनमा ल्याउँछ सुधार शिर्षकको सडक नाटक प्रर्दशन गरिने भएको छ ।त्यस्तै साक्षरता सम्बन्धी लोकदोहरी प्रतियोगिता, साक्षर भएपछिको परिवर्तन शिर्षकमा बृत्तचित्र प्रर्दशनी गरिने निर्देशक पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरि २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा जनचेतनामूलक स्टलहरु राखेर साक्षरता दिवस मनाईने भएको उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा ७५ वटा जिल्लालाई पूर्णसाक्षर जिल्ला बनाउने घोषणा गरेपनि हालसम्म देशभरका ३८ जिल्ला मात्रै पूर्णसाक्षर जिल्ला घोषणा भएको बताउनुभयो । जिल्लामा ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्ण साक्षर जिल्ला घोषणा हुने नियम अनुसार अझै ३७ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको उहाँले बताउँनुभयो ।

निर्देशक पौडेलले भन्नुभयो–“निर्वाचन आचार संहिता लागू भएका कारण पूर्ण साक्षर घोषणा हुन तयारी अबस्थामा रहेका खोटाङ, डडेलधुरा, पर्वत, म्याग्दी, संखुवासभा, सुनसरी र तेह्रथुम जिल्ला घोषणा हुन सकेका छैनन् ।” निर्वाचन सकिए पछि यो वर्ष सबै बाँकी जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने उहाँले बताउनुभयो ।

चालु आवमा केन्द्रबाट नीतिगत दस्ताबेजहरु तयार गर्ने कार्य सम्पन्न भएको बताउँदै उहाँले बिकास गरिएका नीतिगत दस्ताबेजहरुले परिवर्तीत प्रशासकीय संरचना अनुसार अनौपचारिक शिक्षाका कार्यक्रम संचालन गर्न मार्ग दर्शन गर्ने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

उहाँले निरक्षरहरुलाई साक्षर बनाई आधारभुत जीवनउपयोगी तथा जीविकोपार्जन सीप हासिल गराउने तथा सबैका लागि जीवन पर्यन्त सिकाई सुनिश्चित गर्न अनौपचारिक शिक्षा सम्बन्धि बिभिन्न ढाँचाका कार्यक्रम बिकास गरी कार्यान्वयन गर्ने ध्यय केन्द्रको रहेको बताउनुभयो ।