राजपालाई केपी ओलीको प्रश्नः राजनीति गर्नु छ कि छैन ?


काठमाडौँ, १४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ ।

थाइल्याण्डको बैककबाट उपचार गराई स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै उहाँले भन्नुभयो– “राजनीति पार्टीको रुपमा रहेका राजपाले राजनीतिक अभ्यास गर्नुपर्दछ ।”

“अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्नुहोस्, त्यो सम्य समाजलाई ग्राह्य हुँदैन, समाजलाई अस्वीकृत गर्ने व्यवहार प्रकट नगर्नुहास्,” अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले राजपाले गरिरहेको व्यवहारबारे सरकार र निर्वाचन आयोगको चुप लाग्नु अनौठो भएको बताउँदै ‘‘राजपाले अर्काको पार्टीले गरेको कार्यक्रम बिथोल्ने गरेको छ, यो क्रियाकलाप निर्वाचन आचारसंिहताभित्र पर्दछ कि पदैन’’ भनी प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो–‘‘आयोगले राजपालाई यसो गर्नुहोस् भनेर पनि भनेको पाइदैन, केही भन्न नसक्ने कारण के हो ? ’’

राजपाले निषेधको राजनीति गरिरहेको बताउँदै उहाँले एमाले पनि राजपा जस्तै ओर्लिने हो भने नराम्रो परिमाण निस्कने चेतावनी दिनुभयो ।

‘‘एमाले जिम्मेवार पार्टी हो, कुनै आवेश, उत्तेजनामा आउने पार्टी होइन’’ उहाँले भन्नुभयो –‘‘डरपोक भएर भाग्दैन पनि, एमालेलाई प्रतिवादको बाटो समाउन नपरोस् ।’’

अध्यक्ष ओलीले मंसिर ४ गते तोकिएको संघ र प्रदेशको निर्वाचन एकाएक मंसिर १० र २१ गते दुई चरणमा पु¥याउने सरकारको निर्णय उपयुक्त नभएको उल्लेख गर्दै निर्वाचन आयोग र सत्तापक्ष गठबन्धनले गर्ने निर्वाचनमाथि विगतमा गरिएको स्थानीय तहको निर्वाचन हेरेर निष्पक्षताको प्रश्न उठेको गुणासो गर्नुभयो ।

उहाँले आफ्नो स्वास्थ्यस्थिति राम्रै भएको प्रतिक्रिया पनि दिनुभयो ।

ओलीसंगै जानुभएका उहाँका धर्मपत्नी राधिका शाक्यसमेत स्वदेश फर्कनु भएको छ । उहाँलाई स्वागत गर्न कार्यवाहक अध्यक्ष बामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।

अध्यक्ष ओली यही शुक्रबार नियमित उपचारका क्रममा थाइल्याण्डको बैकक जानुभएको थियो । रासस