स्थानीयद्वारा पातारासी गाउँपालिकामा अनिश्चित्कालीन तालाबन्दी

0
Shares

 

नन्दराम जैशी, जुम्ला
जुम्ला पातारासी गाउँलिकाको कार्यालय अनिश्चित कालिन तालाबन्दी गरिएको छ। गाउँपालिका प्रमुख र उपप्रमुखले मनपरी ढंगले बजेट बाँडेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले आइतबार साँझदेखि गाउँपालिकाको कार्यालय अनिश्चित्कालीन तालाबन्दी गरेका हुन्।

बजेट पुनरावलोकनको विषयमा साता दिनदेखि विरोध गर्दै आएका स्थानीयहरूको आजसम्म गाउँपालिका प्रमुख लक्षिमन बोहोराले कुनै वास्ता नगरेको भन्दै कार्यालय तालाबन्दीमा उत्रिनुपरेको स्थानीय अम्मर विष्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘जनसंख्या, भूगोल र पूर्वाधारको अवस्थाको आधारमा बजेट विनियोजन हुनुपर्ने हो। तर केही अध्ययन अनुसन्धान नगरी मनोमानी ढंगबाट बजेट विनियोजन गरेकाले माग सम्बोधनका लागि अन्तिम विकल्पस्वरूप तालाबन्दी गरेका छौं। जनताको सेवा र सुविधा दिलाउन चुनिएका जनप्रतिनिधिहरूको नियत राम्रो देखिएन, गाउँ विकासभन्दा पनि स्थानीय तह ठेकेदार मोटाउने भाँडो बनेको विष्टले तर्क गर्नुभयो।

सिंह दरबारको अधिकार गाउँमा भन्नु कागजमा मात्र सीमित छ। बजेट पुनरावलोकन गरी समान रूपमा वितरण नभएसम्म तालाबन्दी जारी राख्नेछौ। यदि प्रशासनले बल प्रयोग गरेमा परिणाम नराम्रो हुने नागरिकको चेतावनी छ।

बजेट पुनरावलोकनमा गाउँपालिका अध्यक्षले ध्यान नदिएपछि आइतबार साँझ स्थानीयले गाउँपालिकाभरि विरोध जुलुस निकालेर साँझ कार्यालयमा तालाबन्दी गरेका थिए। माग सम्बोधनका लागि एक हप्ता पहिलेदेखि गाउँपालिका धाउँदा अध्यक्ष र उपाध्यक्ष दुवैजना कार्यालयमा उपस्थित नभएको र भए पनि वास्ता नगरेको उनीहरूको गुनासो छ।

अधिकांश समय अध्यक्ष उपाध्यक्ष सदरमुकामै बस्छन्, कहिलेकाहीँ कार्यालयमा देखिन्छन्। अनि माग सम्बोधनका कुरा गर्दा नसुनैझै गर्छन् अर्का स्थानीय रामराज भण्डारीको भनाइ छ। स्थानीयले पाँचसय मेगावाटको चुकेनी लघुजलविद्युत् निर्माणका लागि आवाश्यक बजेट बिनियोजन गर्न दबाब दिएका छन्। एक करोड ३२ लाख रुपियाँँ विद्युत् निर्माणका लागि आवश्यक भए पनि ५० लाख मात्रै छुट्याइएको प्रति आपत्ती जनाएका हुन्।

समग्र वडाहरूमा जनसंख्या, भूगोल तथा आवश्यकताको आधारमा बजेट विनियोजितलाई पुनराअवलोकन नगरे आन्दोलन र तालाबन्दी कार्यक्रम जारी राख्ने स्थानीयको भनाइ छ। भने गाउँपालिकाले यस विषयमा तत्तकाल सरोकारवालाबीच छलफल गरेर निष्कर्ष निकाल्ने बताएको छ।