ट्र्याक्टरले किचेर किसानको मृत्यु

0
Shares

गौशाला, १३ भदौ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका– ११ लक्ष्मीनियाँमा ट्र«्याक्टरले किचेर एक किसानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–११ लक्ष्मीनियाँ बस्ने ७० वर्षीय महादेव यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ना ४ त ८६४४ नम्बरको ट्र्याक्टर लगाएर सोमबार साँझ सोही ट्र्याक्टरको पछाडि बसेर आफ्नै खेत जोताइरहेका किसान महादेव यादवको खेतमै लडेर सोही ट्र्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कठायतले बताउनुभयो ।

मृतक किसान यादवको शव परीक्षणका लागि गएराति जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने उनलाई किच्ने ट्र्याक्टर प्रहरी चौकी कान्तिबजारको नियन्त्रणमा रहेको जनाएको छ । साथै ट्र्याक्टरको चालक घटनापश्चात् फरार रहेको प्रहरी उपरीक्षक कठायतले बताउनुभयो ।

बजारमा भेटिएका वृद्धको मृत्यु

यसैबीच, महोत्तरी जिल्लाको बर्दिबास बजारमा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास नगरपालिका–१ स्थित पञ्चधुरा गेष्टहाउस अगाडि भेटिएका एक ७० वर्षीय वृद्ध व्यक्तिको अस्पतालमा मृत्यु भएको हो ।

नाम, थर, वतन नखुलेको आकाशे रंगको हाफ टिसर्ट, निलो सेतो धर्का भएको प्यान्ट लगाएका ती पुरुष व्यक्ति सोमबार बेहोस अवस्थामा फेला परेपछि प्रहरीले उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा पु¥याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव अहिले बर्दिबास अस्पतालमै राखिएको छ भने उनको मृत्युको खबर प्रहरीले सबैतिर प्रसारण गरिदिन सञ्चारकर्मीसँग आग्रह गरेको छ । रासस