फाइल नअड्काउन गृहमन्त्रीको निर्देशन

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री जनार्दन शर्माले गृह मन्त्रालयमा लामो समयदेखि फाइल रोकिने गरेको गुनासो आएको भन्दै फाइल अड्काउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ। सोमबार आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भन्नुभयो– ‘एक वर्षसम्म फाइल अड्किने गरेको गुनासो आएको छ, त्यस्तो प्रवृत्तिको अन्त्य गर्नूस्।’

‘हरेक बिहान साढे १० बजे सबै विभागीय प्रमुख फाइल लिएर मेरो कार्यकक्षमा आउनूस्’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री शर्माले भन्नुभयो– ‘तपार्इंहरुले सक्ने फाइलको निर्णय तपाईंहरु गर्नूस्, नसक्ने फाइलमाथि म निर्णय गर्छु।’

नेपाली कागजमा टिप्पणी उठाएर सेवा प्रवाहमा ढिलाइ गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिँदै मन्त्री शर्माले भन्नुभयो– ‘टिप्पणी उठाउनै पर्दैन, सबै विभागीय प्रमुखहरु एकैठाउँमा बसेर निर्णय गरौं, एकैपटक हस्ताक्षर गरौं।’

बैठकमा मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले निजामती कर्मचारीलाई विषयगत तालिमको आवश्यकता औंल्याएसँगै मन्त्री शर्माले कर्मचारीलाई आवश्यक तालिम दिइने बताउनुभएको छ।

मन्त्रालय र विभागमा आवश्यक प्राविधिक सामग्री खरिद गर्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘निकासा भएको बजेट खर्च गर्न नसक्ने कर्मचारीले आफ्नो ठाउँ छाडिदिनुपर्छ, हरेक वर्ष बहाना बनाएर बजेट फ्रिज गराउने प्रवृत्ति मान्य हुँदैन।’

‘हरेक विभागका प्रमुखहरुले कार्यसम्पादन करार गर्नुपर्छ’, उहाँले भन्नुभयो– ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुले पनी सरुवा भएको एक साताभित्र कार्यसम्पादन करार गर्नुपर्छ, कार्यसम्पादन करारको आधारमा मूल्यांकन गरिन्छ।’