पिउने पानीमा ‘किटाणु धेरै’

0
Shares

पवित्र आचार्य, ललितपुर

ललितपुरका विभिन्न स्थानमा गरिएको सर्वेक्षणमा ४५ प्रतिशत पिउनेपानीमा किटाणु भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ३ महिना लगाएर गरेको सर्वेक्षणमा यस्तो भेटिएको हो। जनस्वास्थ्यले वैशाखदेखि सर्वेक्षण गरेको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका ल्याब अधिकृत शंकर पौडेलले जिल्लाका शहरी र ग्रामीण क्षेत्रका विभिन्न स्थानमा गरिएको सर्वेक्षणमा किटाणु भेटिएको बताउनुभयो।

उहाँका अनुसार, अघिल्लो वर्षको तुलनामा यो वर्षको सर्वेक्षणले पानीमा कम किटाणु भेटिएको देखाएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अघिल्लो वर्ष ८२ प्रतिशत पिउने पानीमा किटाणु भेटिएको हो।

अघिल्लो वर्षको असारतिर दूषित पानीका कारण हैजाको महामारी फैलिएको थियो। कसैले रोगबाट ज्यान नगुमाए पनि १ सय १९ जनालाई हैजाले सताएको थियो। बिरामी हुनेमध्ये धेरैजसो शहरी क्षेत्रका बासिन्दा रहेको सो कार्यालयले जनाएको छ।

सर्वेक्षणअनुसार गत वर्षको तुलनामा यस वर्ष दूषित पानीको मात्रा घटेसँगै दूषित पानीकै कारण बिरामी हुनेको संख्या शून्यप्रायः छ। अघिल्लो वर्ष दूषित पानी भएर हैजाका धेरै बिरामी भएलगत्तै जनचेतनाका कार्यक्रमहरु व्यापकरूपमा फैलँदा यस वर्ष दूषित पानीबाट हुने रोगमा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याब अधिकृत पौडेलले दाबी गर्नुभयो।

वर्षात्को समयमा दूषित पानीको मात्रा देखिए पनि चेतनाका कारण ललितपुरका स्वास्थ्य चौकीदेखि शहरी क्षेत्रमा रहेका ठूला अस्पतालमा पनि दूषित पानीबाट हुने रोगका बिरामीमा कमी आएको छ। खुलारूपमा दिसा गर्नाले पिउने पानी, खानेकुरालगायत विभिन्न माध्यमबाट मानव शरीरमा पुगेर पानीजन्य रोग लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्।