रियलले सम्भावित हार टार्यो


मेड्रिड, (एजेन्सी)
स्पेनिस ला लिगाअन्तर्गत खेलमा डिफेन्डिङ च्याम्प्यिन रियल मेड्रिडले भ्यालेन्सियासँग बराबरी खेल्दै सम्भावित हार टारेको छ।

आइतबार घरेलु मैदानमा भएको खेलमा रियल मेड्रिडले भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा चित्त बुझाएको हो। यसअघि सिजनको पहिलो खेलमा सहज जित हासिल गरेको रियलले आफ्नै मैदानमा भ्यालेन्सियासँग बराबरी खेल्दै अंक बाँड्नुपरेको हो।

रियलले खेलको १०औं मिनेटमा शुरूआती अग्रता लिएको थियो। जारी सिजन ला लिगाको पहिलो खेलमा रातो कार्ड पाएर प्रतिबन्धमा रहेका सर्जियो रामोसको अनुपस्थितिमा पहिलो रोजाइमा परेका एसेन्सियोले रियलका लागि पहिलो गोल गरेका थिए। तर रियलको उक्त अग्रता धेरै समयसम्म टिकेन। भ्यालेन्सियाका कार्लोस सोलेरले खेलको १८औं मिनेटमा गोल फर्काएर पहिलो हाफसम्म खेललाई बराबरीको स्थितिमा राखे।

भ्यालेन्सियाका लागि डेब्यू गरेका जेफ्री कान्डोगवियाले खेलको ७७औं मिनेटमा रियलका गोलकिपर केलोर नाभासर्लाइ विट गर्दै गोल गरेपछि रियल घरेलु मैदानमा २–१ ले पछि परेको थियो।

तर एसेन्सियोले टोलीका लागि ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको उद्धार गरेका थिए। उक्त खेलमा रियललाई प्रतिबन्धमा रहेका स्टार स्ट्राइकर रोनाल्डोको आवश्यकता खट्केको थियो।