आयरल्यान्डका लागि क्यानडाली राजदूत भूतबाट पीडित

0
Shares

डब्लिन, (एजेन्सी)
आयरल्यान्डका लागि क्यानडाली राजदूत अहिले भूतका कारण समस्यामा परेका छन्। भूतका कारण समस्यामा परेका राजदूत केबिन विकर्स सञ्चार माध्यमहरूमा समेत चर्चामा रहेका छन्।

राजदूत विकर्सलाई डब्लिनस्थित क्यानडाली आधिकारिक स्थलमा कुनै प्रेतात्माको बास हुन सक्ने त्रासले सताइरहेको छ। हालै मात्र एक फेसबुक पोस्टमा राजदूतले दूतावासमा अनौठो आवाज सुन्ने गरेको विषयमा लेखेका छन्।

राजदूतले निवासस्थलको मुख्य हलमा ठूलो आवाजमा हिँडेको र जोडले सास फेरेको आवाज सुनेको बारेमा लेखेका छन्।
इतिहासमा रुचि राख्ने विकर्स आयरल्यान्डमा १९१६ मा भएको इस्टर क्रान्तिसँग सम्बन्धित कुनै नेताको आत्मा हुन सक्ने बताउँछन्। विकर्स उक्त निवासमा बस्न आउँदा उनले डब्लिनको रेनला जिल्लास्थित उक्त घरमा कुनै बेला आयरल्यान्डका राष्ट्रवादी नेता प्याट्रिक पियर्स पनि बसेर गएको हल्ला सुनेका थिए।

पियर्स सन् १९१६ मा बेलायती शासनविरुद्ध भएको क्रान्तिका योजनाकारमध्येका एक थिए। सन् १९१६ अप्रिलमा ६ दिनसम्म भएको उक्त विद्रोहमा ४ सय ५० जनाभन्दा धेरै मारिएका थिए भने २ हजार ५ सयभन्दा धेरै घाइते भएका थिए। पियर्सलाई कोर्ट मार्सल गरिएको थियो र उनलाई फाँसी दिइएको थियो।

सन् २०१६ मा दिएको एक अन्तर्वार्तामा विकर्सले भनेका थिए– ‘आयरल्यान्डका राष्ट्रवादी नेता यो निवासमा बसेको हल्लाका कारण उनले पियर्सको सन् १९०८ देखि १९१२ बीचका घरहरूको दस्तावेजका बारेमा जानकारी संकलन गरें।’ गत अगस्ट १६ मा लेखेको फेसबुक पोस्टमा विकर्सले ‘म यो निवासमा घुमिरहने पियर्स त होइन, भन्ने सोच्न थालेको छु’ लेखेका थिए।

उनले यो निवासमा बस्न आउनु अगाडिसम्म आफूले भूतमा विश्वास नगरेको फेसबुकमा लेखेका थिए। उनले भने– ‘कहिलेकाहीं ऊ रिसाएको जस्तो लाग्थ्यो र फेरि केही दिन बितेपछि सबै कुरा सामान्य हुन्थ्यो।’ फेसबुक पोस्ट लेख्नुअगाडि पहिलो साँझको बारेमा विकर्सले लेखे– ‘म टेलिभिजन हेरिरहेको थिएँ। त्यतिबेला भोजन कक्षमा कुनै भारी सिक्री झरेको हो कि भन्ने महसुस भयो। म तुरुन्तै दौडेर त्यहाँ पुगें, तर त्यहाँ केही थिएन।’

विकर्सले एक हप्ताअगाडि उनले निवासको हलमा जोडले पाइला चालेको र सास फेरेको आवाज सुनको बताए, तर जब उनी त्यहाँ पुगे उनले त्यहाँ केही देखिनन्। कहिलेकाहीं उनकी घरेलु नोकरानी पनि माथि जान नमान्ने गरेको विकर्स बताउँछन्।

उनी भन्छन्– ‘यदि कसैलाई यी घटनाहरूमा शंका लाग्छ भने एक वा दुई रात बस्न आएमा उनीहरूलाई स्वागत छ।’ ‘मैले अहिले मात्रै तल जोडले ढोकामा हानेको आवाज सुनें।’ –उनले भने।विकर्सलाई सन् २०१५ मा आयरल्यान्डमा क्यानडाको राजदूत बनाइएको थियो।