नेपालले पाएन ब्रिक्सको निम्तो



काठमाडौं, (नेस)
यसपटक चीनमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन नेपालले निम्तो नपाएको बुझिएको छ। गत वर्ष भारतको गोवामा सम्पन्न ८औं सम्मेलनमा अतिथि राष्ट्रका रूपमा सहभागिता जनाएको नेपालले यसपटक भने निम्तो नपाएको हो।

९औं ब्रिक्स सम्मेलन आउँदो बिहीबारदेखि चीनको फुजियान प्रान्तमा शुरू हुँदै छ। ‘ब्रिक्सः उज्वल भविष्यका लागि अझ बलियो साझेदारी’ भन्ने नाराका साथ सम्मेलन आउँदो सोमबारसम्म हुने भएको छ।

गत वर्षझैं सो सम्मेलनमा सहभागी हुन नेपाललाई निम्तो नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘चीनले बोलाउने भए २÷३ महिनाअघि नै खबर पठाइसक्थ्यो, त्यहीअनुसारको तयारी नेपालले पनि गर्नुपथ्र्यो तर निम्तो आएको छैन’ –सो मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका ब्रिक्सका सदस्य राष्ट्र छन्। ब्रिक्स सम्मेलन आयोजक राष्ट्रले आफू निकटका अन्य राष्ट्रलाई अतिथिका रूपमा निम्ता गर्ने प्रचलन छ।

गत वर्ष असोज अन्तिम साताको गोवा सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको थियो। सो बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङसँगको ‘साइड लाइन’ भेटवार्ताले नेपालीमाझ निकै चर्चा बटुलेको थियो।

सो भेटवार्ता नेपालका लागि महत्वपूर्ण अवसर र उपलब्धि भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभएको थियो। भारतले पाकिस्तानबाहेकका नेपालसहित बिमस्टेक सदस्य राष्ट्रलाई सो सम्मेलनमा निमन्त्रणा गरेको थियो। एक–अर्का मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखहरूसँग हुने यस्तो भेटवार्ता महत्वपूर्ण मानिन्छ।

प्रतिक्रिया दिनुहोस्