दुगडको फ्रुटीमा छापा,म्याद गुज्रेका सामान भेटिएपछि सिलबन्दी



नेपाल समाचारपत्र,काठमाडौं
म्याद गुज्रेको कच्चा पदार्थ प्रयोग गरेर पेय पदार्थ उत्पादन गरेको फेला परेपछि प्रहरीले फ्रुटी कम्पनीमा सोमबार बेलुकी सिल गरेको छ।

नेपालको लोकप्रिय पेय पदार्थका रूपमा रहेको फ्रुटी उत्पादन गर्दै आएको दुगड ग्रुपले सञ्चालन गरेको उक्त कम्पनीले उत्पादन गरेका फ्रुटीलाई नियन्त्रणमा लिएर सिल गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र महाशाखाको संयुक्त टोलीले सोमबार छापा मार्दा सो कम्पनीले म्याद गुज्रेको २ महिना बितेको कच्चा पदार्थ प्रयोग गरी फ्रुटी उत्पादन गरेको फेला परेपछि सिल गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो।

उहाँका अनुसार म्याद गुज्रेको कच्चा पदार्थ ४ सय ड्रम नियन्त्रणमा लिएको र प्रतिड्रम २ सय २५ किलो कच्चा पदार्थ रहेको उहाँले जानकारी दिनुभयो। २०१५ देखि २०१७ को जुलाईसम्म मात्रै म्याद रहेको कच्चा पदार्थ प्रयोग गरेको फेला परेको समेत उहाँले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालयले बजारमा गएका फ्रुटीको लागत लिइरहेको र बजारमा गएका ती सामानसमेत जफत गर्ने तयारी गरेको छ। संयुक्त अनुगमन टोलीले दुगडको सतुंगलस्थित कारखानामा छापा मारेपछि सञ्चालकहरू फरार भएका छन्। उनीहरूको खोजी गरिरहेको एसएसपी लोहनीले जानकारी दिनुभयो।

उनीहरूले म्याद गुज्रेको उक्त कच्चा पदार्थ प्रयोग गर्न पाएको भए लाखौं थान फ्रुटी उत्पादन गर्ने थिए छापा मार्न गएका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

म्याद गुज्रेको फ्रुटी सेवन गर्ने बालबालिकामा गम्भीर प्रकारका रोगको समस्या देखिने र त्यसले जनस्वास्थ्यमा नराम्रो असर गर्ने चिकित्सकहरूले जानकारी दिएका छन्।

यस्तोमा आइसक्रिम

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल र जिल्ला प्रशासन कार्यालय, भक्तपुरसमेतको संयुक्त अनुगमन टोलीले सोमबार सूर्यविनायक–३ भक्तपुरस्थित एक आइसक्रिम उत्पादन गर्ने पवित्र लक्ष्मी फुड प्रोडक्ट्स नामक उद्योगमा सिलबन्दी गरेको छ । सो कम्पनीले अत्यन्तै फोहोर र दुर्गन्ध फैलिएको अवस्थामा आइसक्रिम उत्पादन गरिरहेको पाइएको थियो ।

उत्पादनस्थलमा मुसाले माटो थुपारेको पनि भेटिएको थियो । विभागले उक्त कारखाना सिलबन्दी गरी खाद्य ऐनबमोजिम कारबाही अगाडि बढाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्