काठमाडौँ, १२ भदौ । भनिन्छ ‘नखाएको विष लाग्दैन, तर नखाएको विष लाग्यो भने के गर्ने त ?’ यस्तै आफ्नो आमाको क्यान्सरको उपचार गर्न भारतको सिलगुढीको एउटा अस्पताल पुगेका एक नेपाली युवकले नखाएको विष लागेको कारण उक्त अस्पतालको हाताबाट नै गिरफ्तारीमा पर्नुपरेको बताएका छन् ।
सूर्योदय नगरपालिका–१० निवासी उदयहाङ फागोले कुनै अपराध नै नगरे पनि १८ दिन सिलगुढी जेलमा बन्दी जीवन बिताउनु परेको थियो । उहाँलाई भारतको पश्चिम बंगाल प्रहरीले दार्जिलिङ आन्दोलनलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै झुटा आरोप लगाएर पक्राउ गरेको हो ।
मानव अधिकार परिषद् नेपालले आयोजना गरेको आजको पत्रकारसम्मलेनमा पीडित उदयहाङ फागोकी दिदी साधना फागोले सरकारले आफ्नो भाइलाई भारतीय प्रहरीले झुटा मुद्दा लगाएको विषयमा भारतसँग कुरा उठाइदिन आग्रह गर्नुभयो ।
पीडित उदयहाङ फागोले आफ्नो आमालाई क्यान्सरको उपचारका लागि सिलगुढी अस्पतालमा गएका बेला दार्जिलिङ आन्दोलनमा सहभागी भएको भन्दै आफूलाई झुटो आरोप लगाएर भारतीय प्रहरीले पक्राउ गरेर १८ दिनसम्म यातना दिएको बताउनुभयो ।
दुई मिनेटका लागि भनेर प्रहरीले पक्राउ गरेर लगे पनि आफूलाई अलमल्याएर भोलिपल्टसम्म प्रहरी हिरासतमा राखेर आफूविरुद्ध अदालतमा मुद्दा दायर गरेको उदयहाङले बताउनुभयो ।
अहिले पनि साधारण तारेखमा छुटाइएको भन्दै उदयकी दिदी साधनाले अब तारेख धाउन नजाने अडान लिँदै नेपाल सरकारले नै यसबारेमा अवगत गराउनुपर्छ भन्नुभयो ।
सरकारलाई ध्यानाकर्षण गराउँदा पनि छुटाउनका लागि कुनै पहल नगरिएको उदयका दाजु शरण फागोले बताउनुभयो ।
मानव अधिकार परिषद्का अध्यक्ष तुलसी थापाले आफ्नो पहलमा उदयलाई छुटाउन धेरै मिहिनेत गर्नु परेको तथा सामान्य प्रक्रिया पूरा गर्न पनि भारतले दुःख दिएको स्पष्ट पार्नुभयो । रासस
प्रतिक्रिया