म्याग्दीमा चारहजार मतदाता थपिए

0
Shares

प्रताप बानियाँ, म्याग्दी । पछिल्लो एक महिनाको अवधिमा म्याग्दी जिल्लामा ४ हजारभन्दा बढी मतदाताहरु थपिएका छन् । निकट भविष्यमा हुने प्रदेश र केन्द्रीय निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले गत साउन १ गतेदेखि भदौ ३ सम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीमा जिल्लाभर कुल ४ हजार २४२ जना मतदाताहरुले आफ्नो नामदर्ता गराएका हुन् । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा जिल्लाभर कुल ७१ हजार ४६३ जना मतदाताहरु रहेका थिए ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीले दिएको जानकारीअनुसार पछिल्लोपटक २ हजार ३५३ पुरुष र १ हजार ८८९ जना महिलाले फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका छन् । निर्वाचन आयोगले गत साउन १ देखि १५ गतेसम्म देशैभरका जिल्ला निर्वाचन कार्यालय र १६ गतेदेखि साउन मसान्तसम्म सबै स्थानीय तहमा मतदाता नामावली सङ्कलन गर्न निर्देश गरेको थियो । म्याग्दी जिल्लामा पनि सोही निर्देशनअनुसार कार्यक्रम सञ्चालन गरी नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

उक्त कार्यक्रमअनुसार जिल्ला निर्वाचन कार्यालयबाट २ हजार ३३३ जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गरेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । उनका अनुसार म्याग्दीका ५ ओटा गाउँपालिकामध्ये सबैभन्दा धेरै मालिका गाउँपालिकामा ५९८ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नामदर्ता गराएका छन् । यसैगरी रघुगंगा गाउँपालिकामा ४५७, मङ्गलामा ३६६, अन्नपूर्णमा २८२ र धौलागिरीमा २०६ जनाले नामावली दर्ता गरेको उनले जानकारी दिए ।

निर्वाचन आयोगमार्फत फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको थियो । निर्वाचन आयोगले पहिलोपटक २०६७ साल भदौमा देशको तत्कालीन ५ विकास क्षेत्रका ७ ओटा जिल्लामा नमुनाको रुपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यक्रम सुरु गरेको थियो । त्यसपछि देशका तत्कालीन ५८ वटा नगरपालिकामा सञ्चालन गरिएको थियो भने पछि क्रमशः देशका सबै जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरेको कार्यालयले बताएको छ ।

म्याग्दी जिल्लामा भने २०६८ साल बैशाख १ गतेबाट फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्य अगाडि बढाइएको तथ्याङ्क रहेको छ । मतदाता नामावली सङ्कलन कार्य व्यवस्थित गर्न, असल मतदाता पहिचान गर्न, एउटा व्यक्तिको एक ठाउँबाट मात्रै मतदाता नामावली दर्ता गराउन, मतदाता नामावलीको दुरुपयोग हुन नदिन, मतदाताको आधिकारिक ठाउँ कायम गर्न लगायतका कारणले फोटो तथा औंठा छापसहितको मतदाता नामावली सङ्कलन अभियानकै रुपमा आएको जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाई छ ।
नेपाल सरकारले आउँदो मंसिर १० गते प्रदेश र केन्द्रीय संघको निर्वाचन गर्ने मिति तोकिसकेको हुँदा यही भदौ ४ गतेबाट मतदाता नामावली सङ्कलनको कार्य रोकिएको उनले बताए । यसैगरी निर्वाचन आयोेगले समेत भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुरा गरेका मतदातालाई मात्र आउँदो निर्वाचनमा मतदाताको रुपमा भाग लिन पाउने व्यवस्था गरेको जनाएको छ । अहिले जिल्ला निर्वाचन कार्यालयले नयाँ नामावली दर्ताको रुजु गर्ने, त्रुटि सच्याउने, ठाउँसारी गर्ने, संशोधनलगायतका प्रक्रिया पुरा गरी निर्वाचन आयोगमा पठाउने काममा व्यस्त रहेको कार्यालयका कर्मचारीहरु बताउँछन् । वर्षात्को समय, खेतीपातीको मौसम, यातायातको असुविधा, भागौलिक विकटता जस्ता कारणले नगन्य मात्रामा मतदाताहरु छुटेको हुनसक्ने अनुमान निर्वाचन कार्यालयले गरेको छ ।