नेकपा एमाले: २४ जना कारबाहीमा, ४ जनाको बढुवा

0
Shares

हेटौंडा,(नेस) । वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा पार्टीलाई असहयोग गरी अन्तर्घात गरेको भन्दै नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले जिल्लाका २४ कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीको हेटौंडामा बसेको बैठकले पार्टीलाई स्थानीय तहमा हराउन क्रियाकलाप गरेको भन्दै १० जनालाई पार्टीको साधारणसदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

निष्कासन हुनेमा दिलमाया गौतम र मोहनचन्द्र चौलागाईंलगायत छन् । पार्टीलाई निर्वाचनमा असहयोग गरेको भन्दै १२ सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय भएको जिल्ला सचिव तथा प्रचारविभाग प्रमुख एकालाल श्रेष्ठले जानकारी दिए ।  एक जनालाई ३ महिना निलम्बन र १ जनालाई सचेत्रपत्र दिइने उनले बताए । कम्युनिष्ट पार्टीमा अनुशासन उलंघन गर्नेलाई कडा कारबाही गर्ने नीतिबमोजिम कारबाही गरिएको उनको भनाइ छ ।

जिल्ला कमिटी बैठकले जिल्ला कमिटी सदस्यमा ४ जनालाई मनोनित गरेको छ भने दुई जिल्ला सदस्यलाई जिल्ला सचिवालयमा बढुवा गरेको छ । बैठकले एमाले इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवप्रसाद पुडासैनीसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई जिल्ला सदस्य मनोनित गरेको हो । मनोनित हुनेमा संघीय समाजवादी फोरमबाट एमाले प्रवेश गरेका मेम्बर लो, नेकपा मालेबाट एमाले प्रवेश गरेका सानुभाइ बिश्वकर्मा र उपेन्द्र अधिकारी छन् ।

मालेबाट एमाले प्रवेश गरेका केशव भुजेललाई जिल्ला सल्लाहकार समिति, मालेबाटै एमाले प्रवेश गरेका रमेश विक र उद्धव अधिकारीलाई हेटौंडा नगर सदस्य तथा मालेबाट एमाले प्रवेश गरेका श्याम लामा र माले जनसमाजवादीबाट एमाले प्रवेश गरेका सन्तोष घिमिरेलाई जिल्लाका विभिन्न विभागमा मनोनित गरेको एमाले मकवानपुर सचिव श्रेष्ठले जानकारी दिए ।