भरतपुरका दुई वडाध्यक्षद्वारा शपथ

0
Shares

 

चितवन, १२ भदौ । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज शपथ लिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले उहाँहरुलाई शपथ गराउनुभएको हो ।
विजयी दुई वडाध्यक्षविरुद्ध विशेष अदालत पाटनको हेटाँैडा इजलासमा परेको रिट निवेदन खारेज भएपछि उहाँहरुलाई काम गर्ने बाटो खुलेको हो ।

निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः निर्वाचनका कारण झण्डै तीन महिना ढिला गरी अन्य पदमा विजयीले शपथ लिए पनि दुई वडाध्यक्षले शपथ लिन पाएका थिएनन् ।

यी दुवै वडामा नेकपा (एमाले)का उम्मेदवार विजयी भए पनि झिनो मतान्तरको हारमा नेपाली काँग्रेसका प्रतिद्वन्द्वीले मत गणनामा त्रुटि भएको आरोपसहित रिट दायर गरेपछि शपथ रोकिएको थियो । वडा नं ४ मा हरिप्रसाद आचार्य सात मत र वडा नं ७ मा राजेन्द्रमणि काफ्ले १४ मत अन्तरले विजयी हुनुभएको थियो ।
हेटौँडा इजलासले यही भदौ ८ गते सो रिट खारेज गरेसँगै काम गर्ने बाटो खुलेको हो । रासस