राजपाले भाग लिएपछि महोत्तरीमा चुनावी चहलपहल बढ्यो, जलेश्वर नगरपालिको नगरप्रमुख तथा उपप्रमुखको नाम सिफारिस



लक्ष्मी कुमार साह,महोत्तरी ।
स्थानीय तहको तेश्रो चरण अन्र्तगत प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने चुनावमा राष्ट्रिय जनता पार्टी नेपालले भाग लिने भएपछि महोत्तरीमा एकपटक फेरि चुनावी चहलपहल बढ्न थालेको छ ।

विगतमा राजपा नेपालले संविधानमा रहेका केही असन्तुष्टिहरुका कारण चुनावमा सहभागी नहुने निर्णय लिएपछि प्रदेश नं. २ मा चुनाव हुने नहुने अन्योल देखिएको थियो । तर राजपा नेपालले चुनावमा सहभागी हुने निर्णय गरे लगत्तै प्रदेश नं. २ मा पुनः चुनावी माहोल बढेको संगै अन्योलको वातावरण समेत हटेको छ ।

चुनावमा जाने निर्णयलगत्तै राजपा नेपालले महोत्तरीमा गोविन्द चौधरीलाई उम्मेदवार चयनका लागि केन्द्रीय पर्यवेक्षकको रुपमा खटाएपछि महोत्तरीमा कार्यकर्ताहरुसंग भएको छलफलपछि सम्भाव्य उम्मेदवारहरुको नामावली चयन भइसकेको छ ।

राजपाले महोत्तरीमा स्थानीय तहको तेश्रो चरण अन्र्तगत प्रदेश नं. २ जलेश्वर नगरपालिकाको नगरप्रमुख तथा उपप्रमुखपदका लागि सर्वसम्मत टुङ्गो नलागेपछि नगर प्रमुखमा ९ जनाको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको छ ।

जलेश्वर नगरपालिकामा प्रमुखका लागि मात्रै सुरेश पाण्डेय, दिपु कुमार साह, सुरेश प्रसाद सिंह, रामशंकर मिश्र, सुशिल कुमार शर्मा, रोशन महासेठ, जयरुद्र झा, सुरेन्द्र प्रसाद सिंह र रामसिकिल चौधरी गरी ९ जनाको नाम सिफारिस भएको छ भने उपप्रमुखमा प्रान्ति पाठक, गुन्जन कुमारी राय, मुनचुन देवी महतो, अनिता कुमारी साह र कलिमा खातुन गरी ५ जनाको नाम सिफारिस भएको छ ।

केन्द्रिय पर्यवेक्षक चौधरीले ६ वटा दलहरु मिलेर बनेको राजपामा आकांक्षीहरू बढी भएका कारण सर्वसम्मति हुन नसकेपछि सिफारिस गरिएका नामावली राजपा नेपाल पार्टी कार्यालय महोत्तरीलाई बुझासकेकोे जानकारी गराए ।

यता महोत्तरी जिल्लाका लागि केन्द्रबाट रानी तिवारी, जैनुल राइन, डा. विजय सिंह, श्रीमती सुरिता साह, सुनिल रोहित र श्याम यादव गरी ६ जनाको उच्चस्तरीय समिति समेत आइसकेकोले सो सिफारिस गरिएको नामावलीमा छलफल गरि सर्वसहमति टुंगो लगाउने प्रयास समेत गरिरहेका छन् । साथै सर्वसम्मत नभएपछि केन्द्रले सो निर्णय गर्नेछन् ।

यता राजपा चुनावमा जाने भएपछि राजनीतिक दलहरूले महोत्तरीमा प्रचारप्रसार तीव्र पारेका छन् । दलहरुले चुनावी अभियानलाई तिव्रता दिदै मतदाताको घरदैलोसम्म पुगिरहेका छन् । दलहरुले मोटरसाइकल, जिप लगायत सवारी साधनमा पार्टीको झन्डा लगाएर प्रचारप्रसारमा समेत लागिपरेका छन् ।

यता निर्वाचन आयोगले उम्मेदवारहरुको मनोनयन पत्र दाखिला भदौ २१ गते र मतदान असोज २ गते निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्