प्रहरी बनेर ठग्न खोज्ने उल्टै प्रहरी फन्दामा

0
Shares

नेपाल समाचारपत्र, बाँके

प्रहरी हुँ भन्दै अटोरिक्सा रोक्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट काम गरेर फर्किदै गरेका सुर्खेतका रमेश केसीसमेत पाँच जनालाई चेकजाँच गर्ने बहानामा रोक्ने प्रवीण चौलागाई र अशोक धमलालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले आफूलाई सादा पोशाकको प्रहरी भनेका थिए ।

प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा चलाएको छ । भारतमा काम गरेर फर्किने नेपालीलाई नाकामा लुटपाट हुँदै आएको छ । भारतमा काम गरेर फर्किएका सोझा नेपालीलाई नसा सुंघाएर, खुवाएर या चेकजाँच या बढी भाडा लिएर ठग्ने गरिन्छ ।

प्रहरीले शनिबारमात्रै भारतबाट काम गरेर फर्किएका नेपालीलाई बढी भाडा लिने दुई जना रिक्सा चालकलाई नियन्त्रणमा लिएको छ । जमुनाहादेखि नेपालगञ्जसम्मको भाडा ६ सय रुपैया बताएका चाँदबाबु कवाडिया र खलिल अहमद सिद्धिकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतमा काम गरेर फर्किएका पहाडी जिल्लाका सोझा नेपालीलाई रिक्सा चालकले ५० रुपैया पर्ने ठाउँमा बढी भाडा लिने गरेको पाइन्छ । बढी भाडा लिएका कवाडिया र सिद्धिकीलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ ।

मध्यपश्चिमका पहाडी जिल्लाका हजारौं मानिसहरु भारतमा रोजगारका लागि जाने गर्दछन् । बडो मुश्किलले केही रकम जोहो गरेर घर फर्किने बेलामा ठगहरुले घेर्ने गरेको पाइन्छ । भारतमै यात्राका क्रममा बस र रेलसँगै नाकामा नेपालीले समेत उनीहरुलाई लुट्ने गर्दछन् ।

जमुनाहादेखि नेपालगञ्ज बसपार्कका बीचमा धेरै नेपाली लुटिन्छन् । सोझा नेपालीलाई भारतको कमाई घरसम्म पु¥याउन गाह्रो हुने गर्दछ । पैसा बोकेका नेपालीलाई ज्यान कै बाजी लगाउनु पर्छ । नसालु पदार्थ धेरै मिसाएर खुवाइएका सल्यानका एकजना गतवर्ष कोहलपुरमा मरेका थिए ।

भारतमा काम गर्न गएकाहरु चाडबाडमा फर्किन्छन् । यो बेला ठगहरु नाकामा सल्बलाउने गर्दछन् । बाँके प्रहरीले यो धन्दालाई रोक्न धेरै प्रयास गरे पनि सकेको छैन ।

भारतबाट आउने रिक्सा, टाँगालाई कति भाडा लिइस् भनेर सोध्दा नै धेरै हदसम्म यस्ता घटनामा कमी आएको छ । प्रहरी हुँ भनेर चेकजाँचका नाममा गोजी छाम्ने र पैसा देखेपछि लिएर भाग्नेको समूह पनि नाकामा सक्रिय रहेको छ ।

बाँके प्रहरीले यसअघि पनि यस्ता नक्कली प्रहरीलाई पक्राउ गरेर कारबाही गरिसकेको छ ।