व्रत बस्न छाडेर बाढीपीडितको राहतमा



 

सञ्जय कार्की, रौतहट
नेपाली हिन्दु नारीहरू धर्ममा विश्वास गर्छन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले शिवलाई पाउन १ सय दिनभन्दा बढी निराहर व्रत बसेको धार्मिक मान्यता रहेको छ। पार्वतीको कठोर व्रतले शिव पाएको भन्दै नेपाली हिन्दु नारीहरू कलियुगमा समेत तीजमा निराहार व्रत बस्ने चलन रहिआएको छ तर पद्मकन्या क्याम्पसमा अध्यनरत चार जना छात्रा भने रौतहट र सप्तरीको बाढीपीडितको घर आँगनमा नै तीजको चार दिन बिताएका छन्। नेपाल विद्यार्थी संघका सहमहामन्त्री साधना घिमिरे, केन्द्रीय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीले भने तीजमा व्रत बस्न छाडेर रौतहट र सप्तरीको बाढीपीडितलाई राहत वितरणमा नै समय बिताएका छन्।

उनीहरू भन्छन्– ‘राहतका लागि बाढीले पीडित बनाएका महिलाहरू भोकभोकै बस्नुपर्ने अवस्थामा नाचगान गरेर व्रत बस्नुभन्दा उनीहरूलाई राहत दिनु नै ठूलो धर्म सम्झेका छौं।’ नेपाली महिलाहरूको महान् पर्व तीजको दर खान क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीहरूबाट संकलन गरिएको रकमबाट उनीहरूले रौतहट र सप्तरीको बाढीपीडितलाई राहत सामग्री वितरण गरेका छन्। तीज व्रत बस्ने दिनदेखि ऋषी पञ्चमीको चार दिन उनीहरूले रौतहटको परोहा नगरपालिका–१ स्थित जिगडिया बस्तीका २ सय जनालाई कपडासहितको खाद्यान्न सामग्री वितरण गरेका छन्। यस्तै सप्तरीको सिसवामा रहेका १८ दलित घरपरिवारलाई खाद्यान्न, यस्तै घोडङघासमा बाढीले बगाएको १५ घरपरिवारलाई ५ हजार ५ रुपियाँ आर्थिक सहयोगसमेत गरेका छन्।

रौतहटमा राहत सामग्री दातृ निकाय र संघसंस्थाबाटसमेत प्रशस्त आएको छ। भौगोलिक दृष्टिले निकै टाढा रहेको म्याग्दीबाट नेपाल विद्यार्थी संघले संकलन गरेको ५ लाख ७५ हजार बराबरको खाद्यान्न, दाल चामल, नुन, तेल, त्रिपाल, ओड्ने, ओछ्याउनेलगायतका सामग्री रौतहटको परोहा नगरपालिका–९ जिगडवाका २० घर बाढीपीडित परिवारलाई एक महिना पुग्ने गरी वितरण गरिएको छ। म्याग्दीका विद्यार्थीले खाजा खर्च कटाएर रौतहटका बाढीपीडितका लागि राहत संकलन गरेर वितरण गरिएको नेविसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रीले बताउनुभयो। उहाँले पूर्ण अवस्थामा नआउन्जेलसम्म थोरै सहयोगले पनि ठूलो काम गर्ने भएकाले सहयोग गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्