नारी अनि उनले निभाएको जिम्मेवारी



नारी झट्ट हेर्दा दुई अक्षर जोडिएर बनेको शब्द तर नारी को हुन्, के हुन् ? भनेर बुझ्न त्यत्तिकै गाह्रो छ। कसरी व्याख्या गर्ने नारीको ? नारी एक छोरी, दिदी, बहिनी, बुहारी, श्रीमती, आमाजस्ता विभिन्न सम्बन्धहरुले घेरिएकी एक पात्र हुन्।

हुन त पुरुषहरु पनि जीवनकालमा अनेकौं सम्बन्धहरुबाट घेरिएका हुन्छन् नारीसरह, तर एक नारीले निभाउने आफ्नो विभिन्न भूमिकाहरुको जिम्मेवारीको कुरा गर्ने हो भने साह्रै पृथक छ । पुरुषको भन्दा बेग्लै ।

नेपालको संविधानले मौलिक हकअन्तर्गत विभिन्न हकहरु प्रदान नगरेको त पक्कै हैन । तर जब यी हक, अधिकारहरु व्यवहारमा परिणत गर्ने क्षण आउँछ तब यी हक, अधिकार त हाम्रो संविधानमा मात्रै सीमित भएका हुन् कि भन्ने आभास हुन्छ । जब एक नारी आफ्नो घरको होम मेकर भएर काम गर्छिन्, उनले गरेको कामको कहिल्यै मूल्यांकन हुँदैन । तर जब त्यही नारी केही दिन आफ्नो जिम्मेवारीबाट ब्रेक लिएर आफ्नो इच्छाअनुसार केही गर्छु वा कतै जान चाहन्छु वा यस्तै केही भनी आफ्ना इच्छा जाहेर मात्र जे गर्छिन् तब उनलाई परिवारप्रति कुनै दायित्व छैन ? छोराछोरीको स्कुल, कलेज, अफिस इत्यादि जाने बन्दोबस्त कसले मिलाउँछ ? घरमा खाना कसले पकाउँछ भन्नेजस्ता विभिन्न किसिमका प्रश्नहरु तेस्र्याइन्छ । अब, कुरै गर्ने क्रममा इन्डिपेन्डेन्ट नारीको पनि कुरा गरिहालौँ न, को हुन् त इन्डिपेन्डेन्ट नारी ? के उनले होम मेकर नारीझैँ काम गर्नुपर्दैन ? इन्डिपेन्डेन्ट नारीको कुरा गर्दा आजकालको भाषामा उनीहरुलाई आधा गृहिणी भन्ने उपनामहरु दिन थालिएको रहेछ । हो, ठीक सुन्नुभयो, आधा गृहिणी किन भन्दा बिहान खाना हतार–हतार पकाएर दुई गाँस आफू, आफ्नो श्रीमान् र छोराछोरीलाई खुवाएर हिँड्नै हतार, न त घर राम्रोसँग सम्हाल्न पाउने, न त छोराछोरी नै हेर्न भ्याउने, न त सासू–ससुराको स्याहार गर्न पाउने, न त आफ्नो श्रीमानको ? दिउँसोभर अफिसको १०–५ ड्युटी सम्हाल्न धौ–धौ र साँझ एउटा ड्युटी सकिनासाथ अर्को घरतिरको ५–९ सम्मको ड्युटी सम्हाल्न हतार ।

बुझ्ने पुरुषले त बुझ्लान्, गर्लान् तर बुहारी हो, बुहारीले गर्नुपर्छ भन्ने परिवारबाट आउने टीकाटिप्पणी, नगर्न सक्दा ओइरो लाग्ने अपजशका लाइन, समय मिल्दा केही गरी उसको श्रीमानले उसलाई मद्दत गरिहाल्यो भने छाड्दे बाबु तैँले गर्नुपर्दैन, तैँले गर्नुभन्दा म नै गर्छु भन्ने घरपरिवारका वाणीले आफू हुर्केको जन्मघर छाडी विवाह गरेर आएकी नारी जो विवाहको दिनदेखि श्रीमानको घरलाई आफ्नो सोचेर हरेक काम निपुण किसिमले निरन्तर गर्छे, उसको मानसपटलमा कति धेरै कुराले डेरा जमाएर बसेको हुन्छ होला । एकछिन्को लागि हामी सबैजना सोचौँ त ? विवाह गर्ने बेलामा काम गर्ने, वर्किङ र इन्डिपेन्डेन्ट बुहारी, श्रीमती खोज्ने हाम्रो समाज तर विवाहपछि त्यही बुहारीले जतिसुकै काम गरोस्, मतलब नगर्ने किन ? यदि पढ्नुपर्ने भएर किताब हातमा बोकी बस्यो भने कस्तो पढाइ हो, घरको काम सकाएर बसे पनि त हुने हो नि ? घरको काम कसले गर्छ ? अब म सासू भई बुहारी लिएर आएपछि पनि उसकै पढ्नु छ भनेर सेवा गर्दै बसौँ भन्ने व्यङ्ग्य प्रशस्तै सुनिन्छ । छोरा र बुहारी एउटै पेसामा रहेछन् भने पनि त्यो बुहारीबाट केही पनि सुझाव लिइँदैन, छोरालाई सोध्नुपर्छ अथवा भाइलाई सोधौँला भन्ने सुनिन्छ । आखिर हाम्रो घर, समाज कहिले परिवर्तन हुने ?

समानताका हक, स्वतन्त्रताको हक त उनको जहिल्यै खोसिएझैँ लाग्छ । विवाहअघि पनि कमै घर होलान्, जहाँ छोरा–छोरी समान हुन् भनी भन्ने गरिन्छ । त्यहाँ पनि घरमा आफ्नो दाजु वा भाइले किचेनको केही काम गरिहाले भने घरपरिवारबाट आउने टीकाटिप्पणी भनेका यस्तै हुन्– छोड्दे केटीले अझ विशेषतः आइमाईले गर्ने काम किन गर्नुप¥यो तैँले ? बच्चैबाट केटाले गर्ने काम र केटीले गर्ने काम छुट्याइन्छ । आजभोलि त के लाग्न थालेछ भने, मानिस जति नै युग परिवर्तन गरेर आजको शताब्दीसम्म आइपुगे पनि नेपाली समाजको परिवेश, सोचाइ, हेराइले नारीलाई कहिल्यै पनि समान व्यवहारले नहेर्ने नै रहेछ । घरको हरेक काम गर्ने नारीको मात्रै जिम्मेवारी हो ? पुरुषले गर्नु नहुने हो ? पुरुषले गर्दा पुरुषको इज्जत जाने हो ? यी प्रश्नहरुको जवाफ सरकारसँग छ ? कसले दिन सक्छ जवाफ ? हाम्रो संविधानले दिन सक्ने हो वा होइन ? जो नारीविना हाम्रो जीवन–जगत् चलाउन मुस्किल छ, आखिर किन त्यही नारी अपमानित र अपहेलित हुने ?

कानुनका ठूला–ठूला अक्षरमा लेखिँदैमा नारीले समानता, स्वतन्त्रता प्राप्त गर्ने कुरामा केही पनि ग्यारेन्टी छैन । जबसम्म प्रत्येक समाज, घरपरिवारका व्यक्तिहरुले हामी समान हौँ भनेर भाषण मात्रै गरेर होइन कि वास्तविक जीवनमा त्यो कुरा अनुशरण गर्दैनन् तबसम्म हरेक नारी आफ्ना मनभित्रको भावना, इच्छा र आकाङ्क्षाहरु मारेर जीवन बिताउन बाध्य हुन्छन् । वास्तविक जीवनमा अनुशरण गरे मात्रै नारी एक खुला पन्छी भई आफ्ना पखेटा फिाजाएर उड्न सक्ने क्षमता राख्न सक्ने हुन्छे । परिवर्तनको तर्फ एक हात त बढाई हेर ए समाज, नारीलाई हौसला, हिम्मत र आड त देऊ अनि हेर त नारीले कसरी सक्दो प्रयास गर्छे । मानसिकता परिवर्तन गरेर त हेरौं । यसमा हामी सबैको सोच अत्यन्त महत्वपूर्ण छ । हाम्रो मानसिकतामा असमानता ल्याउनुहुँदैन ।

हामी सबैजना विभिन्न फरक क्षमता भएका छौँ । परिवर्तन आफ्नो घरबाट शुरुवात गरी आफूलाई विकास गर्ने अवसर प्रदान गरौँ। तपाईंको व्यवहार र अद्यावधिकताले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ। तपाईंले आफ्नो जीवनमा आफ्नो भूमिका निर्धारण गरी, परिवर्तन ल्याउनुहोस्।

कानुनमा उल्लेख भएको समानतालाई मानसिकतामा असमानता नराखौं । हाम्रो मानसिकतालाई माझौं र आजैबाट परिवर्तनलाई आफ्नो जीवनमा उतारी व्यवहारमा परिणत बनाऔं । गलत मूल्य र मान्यतालाई हामीले सधैँ चुपचाप सहेर बस्नुहुँदैन । मानसिकतामा परिवर्तन ल्याऔं र लैंगिक समानतालाई सम्भव बनाउने कोशिश गरौं ।

(लेखक पराजुली सर्वोच्च अदालतको इजलास अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्