नेपाल र भारत उपाधिकै लागि खेल्ने


 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल र भारतले साफ यु १५ च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन्। शनिबार भएको प्रि म्याच पत्रकार सम्मेलनमा दुबैका प्रशिक्षकले उपाधि नै जित्ने दाबी गरेका हुन्। नेपालका प्रशिक्षक सुनील श्रेष्ठले भारतसँग समूह चरणमा हारे पनि फाइनलमा सोही नतिजा नदोहोरिने बताए। उनले भने– ‘भारतसँग समूह चरणमा आफ्नै कारणले हारेको थियौ। तर गल्ती सुधारेर फाइनल जित्ने हाम्रो चाहना हो।’

नेपाल लगातार भारतसँग हरेक उमेर समूहमा पराजित हुँदै आएको छ। यसअघिका दुई संस्करण (साफ यु १६) मा नेपाल भारतसँगै नेपाल हारेको थियो। सिनियरमा पनि नेपालले भारतलाई हराउन सकिरहेको छैन। नेपालले आज सातदोबाटोमा हुने फाइनलमा भारतलाई हराएर अभागीको ट्याग मेट्ने मौका रहेको छ। नेपाल यसै प्रतियोगितामा पनि भारतसँग समूह चरणमा २–१ ले हारेको थियो।

प्रशिक्षक श्रेष्ठले यसमा बताए– ‘बारम्बार भारतसँग हारे पनि हामीमाथि कुनै दवाव छैन। अहिलेको फुटबलको नयाँ टेक्निक एट्याक र डिफेन्समा जोड दिनेछौं।’ नेपालका कप्तान रोशन थापामगरले भारतलाई पराजित गर्न सकिने अपेक्षा गरे। उनले भने—केही सट पासहरूमा समस्या छ। यदि यसमा सुधार गर्न सकेमा हामीले भारतलाई हराउन सकिनेछ। समूह चरणमा जस्तै गल्ती चाहिँ दोहोर्याउने छैन।

यस्तै भारतका प्रशिक्षक विभियानो फर्नान्डेजले नेपालसँग सतर्कता अपनाउनुपर्ने बताए। उनले भने– ‘समूह चरणमा नेपाललाई हराए पनि फाइनलमा घरेलु टोलीले जित्न कोसिस गर्नेछ। समूह चरणभन्दा फाइनल फरक हुने भएकाले पनि खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आशा गर्न सकिन्छ।’

यसै गरी आजै तेस्रो स्थानका लागि खेल हुनेछ। जसमा भुटानले बंगलादेससँग खेल्नेछ। सेमिफाइनलमा नेपालले बंगलादेसलाई ४–२ ले हरायो भने भारतले भुटानलाई ३–० ले पराजित गरेको थियो। समूह चरणमा बंगलादशले भुटानलाई ३–० ले हराएको थियो। भुटान यस हारको बदला लिने सुरमा रहेको छ।