नेपाली भलिबल टोलीको जित


 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली पुरुष भलिबल टोलीले शनिबार भएको एक मैत्री खेलमा डेनमार्कको भिडओभ क्लबलाई ३–१ सेटले हराएको छ।

लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपालले पहिलो सेट भने गुमायो। त्यसपछि लगातार तीन सेट जितेर नेपालले जित हात पार्यो। नेपालले सो खेल १७–२५, २५–१५, २५–२३, २५–२३ को सेटले जितेको हो। यसअघि डेनमार्कमा नेपालले मैत्री खेल खेल्दा पराजित भएको थियो।

नेपाल र डेनमार्कबीच सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल भलिबल संघको समन्वयमा सो मैत्री खेल भएको हो। नेपाली भलिबल टोलीले आगामी दुई मैत्री खेल पनि खेल्दै छ। नेपालले यही भदौ १३ र १४ गते बंगलादेशको राष्ट्रिय भलिबल टोलीसँग खेल्दै छ।