ट्याक्सी व्यवसायी समितिको दशौं साधारणसभा

0
Shares

प्रताप बानियाँ, म्याग्दी । म्याग्दी ट्याक्सी व्यवसायी समितिको शनिबार सदरमुकाम बेनीमा दशौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा समितिका महासचिव भोजबहादुर थापाले गत आर्थिक वर्ष २०७३÷७४ को प्रगति तथा चालु आवको प्रस्तावित कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको उद्घाटन गर्दै म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले ट्याक्सी व्यवसायीले सामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको हुँदा व्यवसायीको समस्या समाधानका लागि पहल गरिने बताए । उनले सङ्गठित र व्यवस्थित नभएसम्म आवाजको सुनुवाई तथा समस्याको समाधान हुन नसक्ने भएको बताउँदै एकजुट हुन ट्याक्सी व्यवसायीहरुलाई आग्रह समेत गरेका छन् ।

सोही कार्यक्रममा म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष एवं संरक्षक विनोद केसीले यातायात क्षेत्रमा भएका बिकृति र विसङ्गतिको न्युनीकरण गर्नुपर्ने बताए । उनले राज्य आफैले सिन्डीकेटको सिर्जना गरिरहेको हुँदा त्यसको अन्त्य राज्यले नै गनुपर्ने माग समेत गरेका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय म्याग्दीका पूर्व ट्राफिक प्रमुख विकास तिमिल्सीनाले एम्बुलेन्सको भन्दापनि ट्याक्सीको सेवा धेरै माथी रहेको भन्दै ट्याक्सी व्यवसायमार्फत समाजमा सामाजिक सेवा प्रवाह भैरहेको बताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले जिल्लाको पर्यटन व्यवसाय वृद्धिका लागि यातायात व्यवसायी, होटल व्यवसायी र पत्रकारले एकापसमा सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रमको अवसरमा पूर्व ट्राफिक प्रमुख तिमिल्सीना र म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष विनोद केसीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । यसैगरी असल चालकका रुपमा सुमन रोका, सुनिल शेरचन र राजु पुनलाई सम्मानपत्र र नगदसहित सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथिलगायतले अबिर तथा टिका लगाई सम्मान गरेका थिए ।
कार्यक्रम म्याग्दी ट्याक्सी व्यवसायी समितिका अध्यक्ष दलबहादुर पुनको अध्यक्षता, महासचिव भोजबहादुर थापाको सञ्चालन र उपाध्यक्ष टिका पूर्जाको स्वागतमा सम्पन्न भएको थियो । हाल म्याग्दी तथा काली भेग र बेनी–पोखरा रुटमा १२८ ओटा ट्याक्सीहरु सञ्चालनमा रहेका छन् ।