विवेकशीलको सुर्खेत संयोजकमा रेग्मी

0
Shares

शेरबहादुर थापा, सुर्खेत ।
विवेकशील साझा पार्टीले सुर्खेत जिल्लाको संयोजकमा पूर्व वरिष्ठ इन्जिनियर ओमदत्त रेग्मीलाई चयन गरेको छ । शनिबार वीरेन्द्रनगरमा प्रदेश नं। ६ को सदस्य तथा जिल्लाको संयोजकमा चयन गरिएको केन्द्रीय सदस्य तथा प्रदेश कमिटिका संयोजक गेहेन्द्रप्रसाद दाहालले बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै संयोजक दाहालले आफूले कहिल्यै विवेक नबेच्ने प्रतिबद्वता जनाए । आमाको गलत सोचका कारण भगवान रामचन्द्र चौध वर्ष बनवास गएको स्मरण गराउँदै दाहालले देशमा क्रियाशिल पुराना राजनीतिक दलहरुको गलत प्रवृत्तिका विरुद्व विवेकशील साझा पार्टी पनि वनवास गएको दाबी गरे ।

वनवासबाट फर्केर रामचन्द्रले राज्य सुधार गरेजस्तै पार्टीले पनि देशको आमुल परिवर्तन गर्ने ठोकुवा गरे । पुराना दलहरुले आत्मसम्मान, इज्जत र प्रतिष्ठा जोगाउन नसकेको, ७० वर्षसम्म सत्ता चलाएपनि देशको मुहार फेर्न नसकेकाले साझा पार्टीको जन्म भएको उनको भनाई थियो । उनले हरेक चीजको सहि प्रयोग गर्नुपर्ने र सहि प्रयोगले मात्रै समाजको रुपान्तरण हुनसक्ने जनाए ।

उनले भने, ‘आँसीले टाउको पनि काट्छ, तरकारी पनि काट्छ तर के काट्ने भन्ने पुराना दलहरुले टुगों लगाउन सकेनन् ।’ साझा पार्टीले समाजको रुपान्तरण, चेतना स्तर अभिवृद्वि गर्दै विवेकशील नागरिक तयार पार्न भूमिका खेल्ने उनको भनाई थियो ।

 

जिल्ला संयोजक ओमदत्त रेग्मीले प्रदुषण फैलाउने तत्वलाई पार्टीमा नल्याइने प्रतिबद्वता जनाए । उनले ७० वर्षसम्म पनि देशको सामाजिक, सांस्कृतिक, आर्थिकलगायतका अन्य क्षेत्रमा सुधार हुन नसकेकोले साझा पार्टीको जन्म भएको जनाए । आफू समितिको संयोजकमा तदर्थ समिति रहुञ्जेलमात्रै रहने बताउँदै युवाहरुलाई सामाजिक रुपान्तरणका लागि एकजुट बन्न आव्हान गरे ।

रेग्मीले जनतालाई आश्वासन बाँडेर धेरै पटक पुराना दलहरुले खरिद विक्री गरेको आरोप लगाउँदै साझा पार्टीले त्यसो नगर्ने बरु काम गरेर मात्रै जनतासमक्ष जाने उद्घोष गरे । सरकारले बाढीपिडितहरुलाई कम्बल र चामल सम्म वितरण गर्न नसकेको प्रति इगिंत गर्दै रेग्मीले खोक्रा भाषण र आश्वासनले कसैको पेट नभरिने बताए ।

कार्यक्रममा शेखर खड्का,भुवन खराल, कृष्णलाल दाहाल, तिलक पौडेल, रामकुमारी खत्री, तुल्सिप्रसाद कट्टी किरण ओली र विष्णा शाहीले सम्वोधन गरेका थिए ।

प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालले केहि समयभित्रै जिल्ला समितिहरु गठन गरिने र क्रमशः पूर्णता दिदै लैजाने जानकारी दिए ।