घुमफिरको रहर

0
Shares

 

गत बुधबार छिमेकी भारतको भ्रमणमा जानुभएका प्रधानमन्त्री शेवदेको महत्त्वपूर्ण भेटघाट बिहीबारसम्ममै सकिएको छ। दुई देशबीच ८ बुँदे समझदारीदेखि लिएर संयुक्त वक्तव्यसमेत आइसकेको छ। स्वदेशमा मुलुक चुनावमा होमिएको छ। बाढीपीडितहरू अझै मारमा परिरहेका छन्। बिहान खाए बेलुका के खाऔंको अवस्थामा छन्। प्रधानमन्त्री भने घुमफिरका लागि फेरि हैदराबादतिर लाग्नुभएको छ।

प्रधानमन्त्रीले यसो नगरौं भनेको भए यस्तो घुमफिरको कार्यक्रम सायद बन्ने थिएन होला। उहाँलाई घुम्न त्यति धेरै मन पनि नलाग्नुपर्ने हो। तर, सहयोगीहरूले बाध्य पार्छन् कि के हो भन्ने धरहरालाई लागेको छ। उहाँको भलो कसैले चाहन्थ्यो भने त बिहीबार साँझ नै स्वदेश फर्किन सुझाव दिन्थे होलान् र उहाँ आइ पनि सक्नुहुन्थ्यो होला।

जम्बो भ्रमण दलले पनि घुमफिरतिर प्रधानमन्त्रीलाई नउक्साएको भए जाती हुने थियो। तर, यस्तै गाईजात्रा देखाउने काम गर्दा अरुले पनि हामीलाई हेप्ने गरेका छन्। कहिले खुल्ने होला है हामी नेपालीलाई चेत ? केही सय डलर दैनिक भत्ता थपिन्छ भनेर अति त गर्न नहुने नि महामहिमका सहयोगीहरूले ? यो त श्रीमान्को नाकमा झिंगा बस्यो भनेर माया गर्ने श्रीमतीले झिंगा धपाउन तरबार प्रयोग गरेको जस्तो भएन र भन्या ? झिंगा त उड्ला तर श्रीमान्को नाक मात्रै होइन टाउकै बाँकी रहला र ?