मेसी सिटीमा पुग्न सक्ने


नेयमारको बहिर्गमन भएपछि स्पेनी महारथी क्लब बार्सिलोनालाई झट्का लागेको हालको प्रदर्शनले प्रस्ट पारेको छ। नेयमार लियोनल मेसी र लुइस स्वारेजसँग ज्यादै नै तालमेल मिलाएर खेलेका थिए। यसले यी तीनको एट्याकिङ अरू क्लबमाथि भारी परेको थियो।

यो एमएसएनको नामबाट पनि चर्चित थियो। तर, एमएसएनबाट एन बाहिरिएपछि बार्सिलोनालाई यसको भर्पाइ गर्न गाह्रो भइरहेको छ। हालै चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको टोली रियल मेड्रिडसँग हारेर स्पेनिस कप बार्सिलोनाले गुमाएको छ।

अहिले ट्रान्सफर विन्डोमा अर्को चर्चा तीव्ररूपमा चलिरहेको छ। एमएसएनका एम यानी मेसी बार्सिलोना छाड्दै छन्। द सनले जनाएअनुसार मेसी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा प्रवेश गर्न कोशिस गरिरहेका छन्। सोही अखबारले जनाएअनुसार मेसीका बाबु जर्ज मेसी र सिटीका फुटबल निर्देशक टक्सिसी बेगिरिस्टियनसँग मेसीको भविष्यबारे भेटेका थिए। टक्सिसी सन् २०१२ सम्म बार्सिलोनामै रहेका थिए। उनीहरूले ३० वर्षीय मेसीलाई सिटीमा आबद्ध गराउने सम्भाव्यताबारे नै छलफल गरेका थिए।

तर, सम्झौता गराउन कठिन हुनेछ भन्ने पनि उनीहरूले थाहा छ। उनीहरूले अर्को समरसम्म कुर्नुपर्ने हुन्छ। मेसीले बार्सिलोनासँग सन् २०२१ सम्म सम्झौतामा हस्ताक्षर गरेर नवीकरण गरिसकेका छन्। बार्सिलोना भने मेसी इमान्दार रहेको उनले नेयमारले जस्तो कतै पनि धोका दिँदैन भनेर आत्मविश्वासमा छ। नेयमार पेरिस सेन्ट जर्मेनमा रेकर्ड १९ करोड ८० लाख पाउन्डमा पुगेका हुन्।

मेसीको रकम अझै बढी रहेको छ। जुन रकम विश्व रेकर्डकै रहेको छ। बार्सिलोनाले मेसीको मूल्य २६ करोड ३० लाख पाउन्ड राखेको छ। सिटीले यस समरमा २१ करोड ३० लाख पाउन्ड खर्च गरेको छ। नेयमारलाई बेचेपछि बार्सिलोनाका प्रमुखहरूले मेसीलाई चाँडै बिक्री गर्न पनि चाहिरहेका छैनन्। तर, बार्सिलोनाका एक सदस्यले बताएअनुसार मेसीको अवस्था नेयमारको भन्दा पनि खराब रहेको छ। उनी जनवरी १ पछि स्वतन्त्र हुने पनि दाबी गरिएको छ।