परीक्षण हुन बाँकी क्षेप्यास्त्रको सूचना चुहियो


प्योङयाङ, (एजेन्सी)
उत्तर कोरियाले जानी नजानी परीक्षण गर्न बाँकी दुईवटा क्षेप्यास्त्र प्रणालीसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्न पुगेको छ। उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उनले एउटा कारखानाको निरीक्षण गर्ने क्रममा तयार पारिएको प्रेस विज्ञप्तिमा सो विवरण चुहिन पुगेको हो।

सरकारी समाचार निकाय केसिएनएले तयार पारेको एक प्रतिवेदनमा किमले रक्षा विज्ञान प्रतिष्ठान परिसरमा निरीक्षण गर्दा भित्तामा भुण्डाइएको ठूलो चार्टमा परीक्षण हुन नै बाँकी क्षेप्यास्त्र ह्वासोङ– १३ र पुक्गुक्सोङ– ३ को विस्तृत विवरण राखिएको देखिन्छ।

ह्वासोङ – १३ इन्टर कन्टिनेनटल व्यालेस्टिक मिसाइल ( आईसीबीएम ) को तेश्रो चरण तथा पुक्गुक्सोङ– ३ सवमरिन लन्च्ड व्यालेस्टिक मिसाइल ( एसएलबीएम) भएको बताइएको छ। फोटोसुटको क्रममा त्रुटिवश यसरी पृष्ठभूमिमा सुरक्षा तथा हतियारसम्बन्धी महत्वपूर्ण सूचना चुहिने गरेको यो पहिलो घटना भने होइन।

राजनीतिक विश्लेषकहरूले भने उत्तर कोरियाले आफ्ना शत्रुहरूलाई सैनिक शक्ति प्रदर्शन गर्नका लागि जानीजानी यस्तो घटना घटाउने गरेको बताउँछन्। दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको वार्षिक सैनिक अभ्यास शुरू भएको तेस्रो दिनमा उत्तरको यसरी क्षेप्यास्त्र सूचना चुहिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ।

प्योङयाङले सो अभ्यास आफूविरुद्धको युद्धको तयारी भन्दै हरेक वर्ष कडा आलोचना गर्दै आएको छ। कोरिया प्रतिरक्षा तथा सुरक्षा मञ्चका सिन जोङ बुले उत्तर कोरियाले नियतवश विश्वसामू आफ्नो हतियारको शक्ति प्रदर्शन गर्ने क्रममा आफ्नो सरकारी संचार माध्यम यसरी सूचना चुहाउने गरेका दक्षिण कोरियाली अखबार जुङ आङ वोलाई बताएका छन्।

केही समयअघि मात्र संयुक्त राष्ट्र संघले पछिल्ला क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियामाथि थप नयाँ नाकाबन्दी लगाएको थियो। उत्तर कोरियाको सूचना तथा सञ्चार क्षेत्र पूर्ण रुपमा सरकारको नियन्त्रणमा रहेको छ।