मोटरसाइकल ठोक्किँदा चारको निधन

0
Shares

यमलाल भुसाल, बुटवल
रुपन्देहीको देवदह नगरपालिका भलुहीमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ। दुई जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्गअन्र्तगत दुई विपरीत दिशाबाट आइरहेका लु२३प१०२८ नं को पल्सर मोटरसाइकल र लु३३प७०८३ नं को स्पेलेन्डर मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको देवदह प्रहरी चौकीका प्रमुख, प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो।

घटनास्थलमा नै मृत्यु हुनेमा रुपन्देहीको पर्रोहाका वर्ष २१ को खेमराज थापा र नवलपरासीको रामग्राम बस्ने वर्ष २५ को सुरज चौधरी रहेको प्रहरीले जनाएको छ। उपचारको क्रममा मृत्यु हुनेहरूमा मोटरसाइकल पछाडि सवार बुटवल उपमहानगरपालिका १६ बस्ने वर्ष २३ को सुमन कुवँर र नवलपरासीको सुनवल नगरपालिका २ बस्ने वर्ष २४ को दिवाकर यादव रहेका छन्।

घाइते भएका दुई जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको थियो। मृतकको शव पोस्टमार्टमको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।